इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका अन्तर्गतका विद्यालय र स्वास्थ्य केन्द्रमा आँखा तथा कानको निशुल्क परिक्षण शिविर निरन्तर सञ्चालन भइ रहेको छ ।
सोही क्रममा आज गाउँपालिकाको ७ नं. वडा स्थित गैंयाराज आभारभुत विद्यालयका ७७ जना विद्यार्थीको आँखा तथा कान परिक्षण सम्पन्न गरिएको हो । बालविकास देखि कक्षा ८ सम्मको विद्यार्थीहरुमा परिक्षण गर्दा दुई जनामा आँखाको समस्या देखिएको र अन्यको अवस्था सामान्य पाइएको विद्यालयका प्रधानध्यापक तारादेवी राईले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति संघ भोजपुर शाखा र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा हतुवागढी गाउँपालिकाको व्यवस्थापनमा गत साउन २१ गतेबाट सुरु भएको परिक्षण अभियान असोज २५ गते सम्म सञ्चालन हुने जनाइएको छ ।
स्वास्थ्य आँखा सुन्दर संसार अभियान अन्तर्गत सञ्चालित शिविरमा आँखा पाकेको, आँखाको सुख्खापन, आँखाको एलर्जी लगायतका समस्याहरु देखिएमा परिक्षण स्थलबाट निशुल्क औषधी वितरण गरिनेछ । विद्यालयका विद्यार्थी र ४० वर्ष उमेर समूह माथिका नागरिकलाई लक्षित शिविरमा नजिकको दृष्टिमा आँखाको समस्या देखिएमा प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारबाट निशुल्क चस्मा प्रदान गरिने विराटनगर आँखा अस्पतालका नेत्र सहायक श्रीनारायण साहले जानकारी दिनुभयो ।


