इटहरी : मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाको आयोजनामा शान्ति, जलवायु न्याय, उद्धार, राहत तथा पुनर्वासका विषयमा नागरिक संवाद कार्यक्रम गरिएको छ ।
इटहरीस्थित सुष्मा गोदावरी कलेजमा आयोजित कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति ओमप्रसाद गौतमले संवाद तथा सहकार्यका माध्यमबाट सामाजिक समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षासेवी लेखनाथ घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यस्तै, इटहरी उपमहानगरपालिकाका वातावरण विज्ञ युगदीप लुइटेल, राजनीतिकर्मी रमेश खत्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी नगर कमिटीका सभापति महेश थापा सहभागी थिए ।
कार्यक्रममा शान्ति दिवस तथा जलवायु न्यायसँगै उद्धार, राहत र पुनर्वासका विषयमा नागरिकस्तरबाट संवाद र सहकार्यको आवश्यकता विषयमा छलफल गरिएको थियो । मानव अधिकार तथा शान्ति समाजले नागरिकका समस्या र सरोकारका विषयमा संवादमार्फत साझा धारणा निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।


