इटहरी। ओखलढुङ्गामा ५१ हजार गाईभैँसीलाई खोरेत रोगविरूद्धको खोप लगाइने भएको छ । खोरेत रोग नियन्त्रण तथा उन्मूलनका लागि जिल्लामा असोज १५ गतेदेखि खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
अभियानलाई प्रभावकारी बनाउन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गाको आयोजनामा जिल्लास्तरीय प्रमुख सहजीकरण समिति बैठक बसेको छ । जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईको अध्यक्षतामा बसेको बैठकमा खोपको महत्वबारे कृषकलाई सचेत गराउने तथा अभियानमा सरोकारवालाको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
केन्द्रका निमित्त प्रमुख गणेश भट्टराईले खोरेत रोगको जोखिम कम गर्न नियमित खोपसँगै रोगबारे जनचेतना अभिवृद्धि र कृषकको सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार जिल्लामा ५१ हजार गाईभैँसीलाई खोप लगाउने लक्ष्य राखिएको छ । सिद्धिचरण नगरपालिकालगायत केही स्थानीय तहमा भने खोप कार्यक्रम सुरु भइसकेको छ । बैठकमा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका पशु चिकित्सक पुरुषोत्तम पाण्डेले प्रदेशमा सञ्चालन भइरहेको खोरेत रोग नियन्त्रण आयोजनासहित रोगको वर्तमान अवस्थाबारे जानकारी दिनुभएको थियो । उहाँका अनुसार हावाको माध्यमबाट समेत सर्न सक्ने महामारीजन्य खोरेत रोगका कारण कृषकले दूध तथा मासुजन्य उत्पादनमा क्षति बेहोर्नुपरेको छ ।
नेपाल खोरेत रोग संक्रमणको जोखिमयुक्त क्षेत्रमा रहेकाले यसको प्रभाव अन्तर्राष्ट्रिय व्यापारमा समेत पर्ने गरेको उहाँले बताउनुभयो । खोरेत रोग नियन्त्रणको चरणमा रहेकाले खोप अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको पाण्डेले बताउनुभयो । बैठकमा जिल्ला समन्वय समिति प्रमुख भट्टराई, सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेत, मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईसहित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार र अन्य सरोकारवालाको सहभागिता थियो ।


