इटहरी। ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला र पाँचथरको याङवरक गाउँपालिका–फलैचाको सङ्गमस्थलमा रहेको तिम्बुङ पोखरी पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ ।
समुद्र सतहदेखि चार हजार तीन सय ५० मिटर उचाइमा रहेको तिम्बुङ पोखरीलाई पूर्वको गोसाइँकुण्डका रूपमा समेत चिनिन्छ । पर्यटन व्यवसायी साथै तिम्बुङ पोखरी संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष अमिर राईका अनुसार पछिल्ला वर्षमा तिम्बुङ पोखरी पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । गत वर्ष मात्रै करिब पाँच हजार पर्यटकले पोखरीको भ्रमण गरेका थिए । तिम्बुङ पोखरीमा ताप्लेजुङसहित पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, झापा तथा भारतको सिक्किमबाट समेत पर्यटक पुग्ने गरेका छन् । करिब चार सय मिटर लम्बाइ र दुई सय मिटर चौडाइमा फैलिएको पोखरीको गहिराइ भने हालसम्म यकिन हुन सकेको छैन ।
चैतदेखि मङ्सिरसम्मलाई तिम्बुङ पोखरी भ्रमणको उपयुक्त समय मानिन्छ । विशेषगरी साउनमा विभिन्न प्रजातिका रङ्गीचङ्गी फूल फुल्ने भएकाले त्यस समयमा पर्यटकको चाप बढ्ने गरेको राईले बताउनुभयो । पर्यटकको सहजताका लागि तिम्बुङ पोखरी संरक्षण तथा व्यवस्थापन समितिले बाटोमा विश्रामस्थल निर्माण गर्न थालेको छ । तिम्बुङमा पर्यटकको सङ्ख्या बढाउन कालिखोलादेखि पोखरी क्षेत्रसम्म सडक पहुँच विस्तार तथा बाटोमा होटल र अन्य पूर्वाधार निर्माण गर्न आवश्यक रहेको पर्यटन व्यवसायी राईले बताउनुभयो ।
केन्जो, माइकोपिला, सुनाखरीलगायतका फूल तथा यार्सागुम्बा, पाँचऔँले, पदमचाल, बिखमा, कुड्की, पाखनवेद, बुढोओखती र चिराइतो जस्ता जडीबुटीसमेत यस क्षेत्रमा पाइने कालिखोलाका धनबहादुर लिम्बूले बताउनुभयो ।


