इटहरी। धनकुटामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शहीदभूमि गाउँपालिका–७ चाम्चास्थित एक घरबाट सोमबार साँझ ट्रामोल र स्पास्पेन प्रो नामक औषधीसहित एक युवक पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरी टोलीले चाम्चास्थित करिब २१ वर्षीय प्रगत राईको घरकोठामा खानतलासी गर्दा ट्रामोल–५० का २९ पत्ता ९२९० क्याप्सुल० र स्पास्पेन प्रो का २९ पत्ता ९२९० ट्याब्लेट० फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।
त्यस्तै, धनकुटा नगरपालिका–९ मुलघाटमा सवारीसाधन चेकजाँचका क्रममा प्रहरीले हेरोइनजस्तो देखिने धुलो पदार्थसहित थप दुई जनालाई पक्राउ गरेको छ । इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४५१९ नम्बरको विद्युतीय गाडीमा सवार भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ का २२ वर्षीय भोला राई र भोजपुर नगरपालिका–६ देउरालीका २४ वर्षीय प्रविन राईलाई प्रहरीले पक्राउ गरेको डीएसपी क्षेत्रीले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरूको साथबाट ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ स–साना प्लास्टिकमा प्याक गरिएको २५ पोका, खुला अवस्थामा रहेको हरियो रङका ५० वटा क्याप्सुल र सुन्तला रङका ४५ वटा ट्याब्लेट बरामद गरेको जनाएको छ । बरामद धुलो पदार्थको प्लास्टिकबाहेक तौल एक ग्राम २३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


