इटहरी । मोरङको पथरी शनिश्चरे–२ स्थित रेडस्टार माध्यमिक विद्यालयले राष्ट्रिय सेवा दल (एनसीसी) ५२औँ ब्याच जुनियर डिभिजनका ३० जना क्याडेटहरूलाई शुभकामना सहित बिदाइ गरेको छ। ७९ दिने संस्थागत तालिम पूरा गरेका क्याडेटहरूलाई असोज ८ गतेदेखि मोरङको याङशिलास्थित एनसीसी पूर्वी तालिम शिक्षालयमा सञ्चालन हुने सामूहिक ‘क्लोज क्याम्प’का लागि बिदाइ गरिएको हो।

“अनुशासन नै राष्ट्रसेवाको मूल जग हो“ भन्ने आदर्श वाक्य सहित सञ्चालित तालिमले विद्यार्थीमा नेतृत्व, आत्मविश्वास, आत्मरक्षा र राष्ट्रप्रतिको दायित्व बोध गराउने उद्देश्य राखेको छ। विद्यालयका प्राचार्य टी.एन. तिम्सिनाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगरका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले हासिल गरेको सीपलाई व्यवहारमा उतार्दै पालिका र विद्यालयको गौरव बढाउन आग्रह गर्नुभयो। कार्यक्रममा शिव दत्त गणका जमदार नरेन्द्रबहादुर बयकले विद्यार्थीहरूले बन्द शिविरमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।

सो कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वीरदत्त पन्त, वडाध्यक्ष नैना साम्पाङ, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, विद्यालय व्यवस्थापन समिति सदस्य विजय डाँगी, वडा सदस्यहरू चन्द्रकुमार राई र खिलनाथ घिमिरे, शान्ति टोल विकास समितिका अध्यक्ष राजकुमार गेलाल, शिवदत्त गणका अम सुरेन्द्र धानुक, श्रीनाथ गणका अम विजया खड्का तथा तालिम प्रशिक्षक ज्योति श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। क्याडेटहरूले विविध सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।