इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद मेहताले प्राकृतिक विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ।

विराटनगरमा आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले धनकुटाको सुन्तला र झापाको चिया बालीमा भएको जस्तै क्षतिबाट जोगाउन हरेक किसानलाई बीमाको दायरामा ल्याएर लगानी र उत्पादनको सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा संघीय कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीले सरकारले ५० देखि ८० प्रतिशतसम्म अनुदान दिँदा पनि बीमाको दायरा बढ्न नसकेकाले व्यापक प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो।

मन्त्रालयका सचिव डा. पशुपति ढुंगानाले पशुपन्छी बीमाको तुलनामा बाली बीमा गराउने किसानको सङ्ख्या निकै कम रहेकाले क्षतिपूर्ति प्रक्रिया सहज बनाउनुपर्ने धारणा राख्नुभयो। सो अवसरमा कृषि सेवा विभागका उपनिर्देशक सुनिल जोशी तथा पशु सेवा विभागका उपनिर्देशक सुलोचना श्रेष्ठले कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको कार्यान्वयन र यसका चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। मन्त्री मेहताले सङ्घीय कृषि ऐन चाँडो बनेमा प्रदेशलाई कानुन निर्माणमा सहज हुने स्पष्ट पार्दै बीमाबाट किसानलाई कम्तीमा २० प्रतिशतसम्म फाइदा हुने व्यवस्था गर्न आग्रह गर्नुभयो।