इटहरी । भारी वर्षाको पूर्वानुमानसँगै फिदिम नगरपालिकाले बाढीपहिरोको उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न वडा कार्यालयलाई पत्राचार गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म देशको विभिन्न भागमा हावाहुरी, चट्याङसहित भारी वर्षा हुने पूर्वानुमान गरेको छ । त्यसलाई ध्यानमा राख्दै नगरपालिकाले सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्न १४ वटै वडा कार्यालयलाई निर्देशन दिएको हो । प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद भण्डारीद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार जोखिममा रहेका परिवारको स्थानान्तरणको व्यवस्था मिलाउन भनिएको छ । वडाभित्रका जोखिमयुक्त बस्ती र घरपरिवारको पहिचान गर्न पनि पत्रमा भनिएको छ । आवश्यक पूर्वतयारी गर्न र स्थानीयवासीलाई सावधानी अपनाउन सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय पाँचथरले पनि भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेको छ । प्रशासनले फेसबुकमार्फत सूचना जारी गर्दै बाढी, पहिरो र डुबानको सम्भावित जोखिम न्यूनीकरण गर्न आग्रह गरेको हो । प्रशासकीय अधिकृत गौरव ढुङ्गेलद्वारा हस्ताक्षरित सूचनामा मौसमको अद्यावधिक जानकारी लिन र आवश्यक सावधानी अपनाउन भनिएको छ । वर्षा याममा पाँचथरका फिदिम नगरपालिका, याङवरक, फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाका विभिन्न क्षेत्र बाढीपहिरोको जोखिममा पर्ने गरेका छन् । विगतमा यी क्षेत्रमा बाढीपहिरोका कारण जनधनको क्षति हुँदैआएको छ ।


