इटहरी। कोशी प्रदेशमा आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणअनुसार असोज ७ गतेदेखि कोशी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने तथा असोज ९ देखि ११ गतेसम्म कोशी प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ ।
भारी वर्षाका कारण बाढी, पहिरो, कटान तथा गेग्रान बहाव आउन सक्ने र होचा भू–भाग तथा नदी तटीय क्षेत्रमा डुबानको जोखिम बढ्ने प्रशासनले जनाएको छ । वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन तथा दैनिक जनजीवन प्रभावित हुनुका साथै सडक तथा यातायातसमेत अवरुद्ध हुन सक्ने भएकाले पूर्वतयारी गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख प्रशासकीय अधिकृत रामजी पौडेलले जानकारी दिनुभयो । प्रशासनले भारी वर्षाको अवधिमा अत्यावश्यक कामबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न तथा नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भू–भाग, भिरालो जमिन र डुबान हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । त्यस्तै, जोखिमयुक्त स्थानमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन र स्थानीय तहसँग आवश्यक समन्वय गर्न प्रशासनले आग्रह गरेको छ । जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्स्काभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्नसमेत सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने सूचना तथा चेतावनीलाई ध्यान दिन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।


