विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले सञ्चारकर्मीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ। मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो चरणमा स्वास्थ्य क्षेत्रको अवस्था, आफूले अघि बढाएका काम तथा आगामी योजनाबारे मन्त्री पराजुलीले सञ्चारकर्मीलाई जानकारी गराउनुभएको हो। 

मन्त्री पराजुलीले प्रदेशअन्तर्गतका अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद केन्द्रहरूको अनुगमन र सेवा प्रवाहमा देखिएका समस्याबारे जानकारी गराउँदै स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको बताउनुभयो।

उहाँले अस्पतालमा आवश्यक जनशक्ति, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन, सेवा प्रवाहलाई छिटो–छरितो र सेवामैत्री बनाउने विषयमा समेत जोड दिनुभएको छ।

मन्त्री पराजुलीले आगामी योजनाका रूपमा प्रदेशका जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहित विस्तार गर्ने, केही अस्पताललाई शय्या थप गरी स्तरोन्नति गर्ने, आयुर्वेद केन्द्रलाई व्यवस्थित गर्दै अस्पतालका रूपमा विकास गर्ने तथा निःशुल्क रगत तथा रक्तजन्य पदार्थ उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताउनुभयो।

IMG-20260923-WA0036(1)

त्यस्तै, सबै अस्पतालमा जलन उपचार केन्द्रको सेवा विस्तार, विद्यालय नर्सिङ कार्यक्रमलाई क्रमशः विस्तार गर्ने र स्वास्थ्य क्षेत्रमा अनुगमन, सुपरीवेक्षण तथा नियमनलाई थप व्यवस्थित र पारदर्शी बनाउने योजनासमेत सार्वजनिक गर्नुभयो।

भेटघाटका क्रममा सञ्चारकर्मीहरूले प्रदेशको स्वास्थ्य सेवा, अस्पतालको अवस्था, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहसँग सम्बन्धित विभिन्न विषयमा प्रश्न तथा सुझाव राखेका थिए। मन्त्री पराजुलीले सञ्चारमाध्यमले स्वास्थ्य क्षेत्रका समस्या र नागरिकका गुनासा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै सहकार्य र नियमित संवादलाई निरन्तरता दिने बताउनुभयो।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले पछिल्लो समय आर्थिक वर्ष २०८३/८४ का लागि अस्पताल, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य निकायका वार्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी मार्गदर्शनसमेत सार्वजनिक गरिरहेको छ।