सुन्दरहरैचा । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीमा आगामी असोज १४ गतेदेखि २० गतेसम्म ‘सीप तथा रोजगार मेला–२०८३’ आयोजना हुने भएको छ। ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने नारासहित आयोजना हुन लागेको मेलामा सीपयुक्त जनशक्ति र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गराई रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।
मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत विभिन्न १० वटा विधासँग सम्बन्धित ६५ वटा स्टल रहने आयोजकले जनाएको छ। मेलामार्फत विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको माग र रोजगारीको खोजीमा रहेका युवाबीच प्रत्यक्ष भेटघाट तथा समन्वय गराउने तयारी गरिएको छ।
सीप भएर पनि उपयुक्त रोजगारीको अवसर नपाएका युवालाई रोजगारदातासँग जोड्नुका साथै रोजगारदाताले आफूलाई आवश्यक पर्ने दक्ष तथा सीपयुक्त जनशक्ति छनोट गर्न सक्ने वातावरण मेलाले निर्माण गर्ने अपेक्षा गरिएको छ। त्यस्तै, रोजगारीका लागि आवश्यक सीप, रोजगार बजारको अवस्था तथा उपलब्ध अवसरबारे युवालाई जानकारी गराउने उद्देश्यसमेत मेलाले लिएको छ।
यसैबीच, सुन्दरहरैचा नगरपालिकाले नगर क्षेत्रका सीप तथा रोजगारीको खोजीमा रहेका युवा तथा रोजगारदातालाई मेलामा सहभागी हुन आग्रह गरेको छ। नगरपालिकाका रोजगार संयोजक दिनेश कुमार घिमिरेले उपलब्ध अवसरको सदुपयोग गर्दै नगर क्षेत्रका युवा तथा रोजगारदातालाई मेलामा सहभागी हुन आग्रह गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार मेलाले युवालाई आफ्नो सीप र क्षमता प्रस्तुत गर्ने तथा रोजगारदातासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसर प्रदान गर्नेछ। स्थानीय तहमा रहेका सीपयुक्त जनशक्तिलाई रोजगारीसँग जोड्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने नगरपालिकाले जनाएको छ।
मेलामा सहभागी हुन चाहने रोजगारी खोज्ने व्यक्ति तथा रोजगारदाताले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको jobfair.shramsansar.gov.np पोर्टलमार्फत ‘जब म्याचिङ’ प्रक्रियामा सहभागी हुन सक्नेछन्।
पोर्टलमार्फत रोजगारदाताले आफूलाई आवश्यक पर्ने जनशक्तिको विवरण राख्न सक्नेछन् भने रोजगारी खोज्ने व्यक्तिले आफ्नो सीप, योग्यता तथा अनुभवका आधारमा उपलब्ध रोजगारीका अवसरमा आवेदन दिन सक्नेछन्।
सीपयुक्त जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसरसँग जोड्ने, रोजगारदातालाई आवश्यक जनशक्ति उपलब्ध गराउने तथा सीप र रोजगारीबीचको दूरी कम गर्ने उद्देश्यले आयोजना हुन लागेको मेलाबाट विशेषगरी रोजगारीको खोजीमा रहेका युवाले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।


