इटहरी स् भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ। नियमित शनिबार र आइतबारको बिदासमेत जोडिएपछि विराटनगरका विद्यालय लगातार चार दिन बन्द हुने भएका छन्।
महानगरपालिकाले असोज ८ र ९ गते बिहीबार र शुक्रबार पठनपाठन नगर्न सबै विद्यालयलाई निर्देशन दिएको हो। जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि असोज ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ। वर्षाका कारण खोलानाला तथा नदीमा पानीको बहाव बढ्ने, सडक र बस्ती डुबानमा पर्ने तथा आवागमन प्रभावित हुनसक्ने सम्भावना रहेकाले विद्यार्थी, शिक्षक र सर्वसाधारणको सुरक्षालाई प्राथमिकतामा राखेर विद्यालय बन्द गरिएको महानगरको भनाइ छ।
विद्यालयलाई आश्रयस्थलका रूपमा तयार राख्न निर्देशन
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले विद्यालय भवनलाई आवश्यक परे विपद् प्रभावित नागरिकका लागि अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। महाशाखा प्रमुख रामप्रसाद ढुंगेलद्वारा जारी सूचनामा विद्यालय भवन प्रयोग गर्नुपर्ने अवस्था आए महानगरपालिकाको प्रशासनसँग आवश्यक समन्वय र सम्पर्कमा रहनसमेत विद्यालयहरूलाई आग्रह गरिएको छ। महानगरले सम्भावित वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिम न्यूनीकरणसँगै विद्यालयमा हुने मानवीय आवागमनबाट सिर्जना हुनसक्ने जोखिम रोक्न बिदा दिने निर्णय गरेको जनाएको छ।
सूचना ढिला पुग्दा विद्यार्थी अन्योलमा
महानगरपालिकाले विद्यालय बन्दसम्बन्धी सूचना ढिला जारी गर्दा बिहीबार बिहान भने केही विद्यालयका विद्यार्थी र शिक्षक अन्योलमा परेका थिए। विद्यालय बन्द हुने जानकारी समयमै नपुगेपछि अधिकांश विद्यार्थी नियमित समयमै विद्यालय पुगेका थिए। विद्यालय पुगेपछि मात्र पठनपाठन नहुने जानकारी पाएपछि उनीहरू घर फर्किएका थिए। विद्यालय प्रशासनले पनि महानगरको निर्णय र सूचना विद्यार्थी तथा अभिभावकसम्म समयमै पुर्याउन नसक्दा बिहान केही समय अन्योलको अवस्था सिर्जना भएको जनाएको छ।
चार दिन पठनपाठन बन्द
महानगरको निर्णयअनुसार बिहीबार र शुक्रबार विद्यालय बन्द रहनेछन्। त्यसपछि शनिबार र आइतबार नियमित सार्वजनिक बिदा भएकाले विराटनगरका विद्यालयमा लगातार चार दिन पठनपाठन हुने छैन। यसबीच मौसममा सुधार आएमा वा विपद्को जोखिम बढेमा महानगरपालिकाले आवश्यकताअनुसार थप निर्णय गर्न सक्नेछ। भारी वर्षाका कारण सम्भावित डुबान, कटान र आवागमनमा आउनसक्ने अवरोधलाई ध्यानमा राख्दै महानगरपालिकाले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सतर्क रहन आग्रह गरेको छ।


