इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार भएको पालिकास्तरीय अधिवेशनमा ओखलढुंगाका आठमध्ये सात पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ ।
जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाबाहेक सबै वडा तथा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो । मानेभञ्ज्याङमा भने नेतृत्व चयनका विषयमा विवाद भएको छ । जिल्लाकै शीर्ष नेतृत्वमा रहेका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद रामहरि खतिवडाको गृहपालिका मानेभञ्ज्याङमा खतिवडाले आफ्नै स्वकीय सचिव हुकुम राईलाई उम्मेदवार बनाएका छन् । अर्का उम्मेदवार वडा नम्बर ७ टोक्सेलका वडाध्यक्ष विष्णु गौतमले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । गौतम गत निर्वाचनमा उम्मेदवार बनेका नेता कुमार लुईटेलनिकट मानिन्छन् ।
खतिवडा र लुईटेलबीचको टकरावका कारण मानेभञ्ज्याङ गाउँपालिकामा मतदानको अवस्था आएको नेताहरूको भनाइ छ । सबै स्थानीय तहमा सहमति गराउँदा खतिवडाले आफ्नै पालिकामा भने सहमति कायम गर्न नसकेको भन्दै क्षेत्रीय प्रतिनिधिहरूले गुनासो गरेका छन् । क्षेत्रीय प्रतिनिधि र पालिकाका अधिकांश नेताहरूले सर्वसम्मतिमै नेतृत्व चयन गर्ने प्रयास गरिरहे पनि खतिवडाले आफ्ना उम्मेदवारका नाममा सहमति नभए मतदानमा लैजाने र आन्तरिक असमझदारी बढाउन लागेको स्थानीय नेताहरूले आरोप लगाएका छन् । यद्यपि खतिवडा पक्षका नेताहरूले भने सर्वसम्मतिका लागि हदैसम्मको प्रयास गरे पनि सहमति नजुटेपछि लोकतान्त्रिक प्रक्रियामा जाने विषयमा खुला हुनुपर्ने बताएका छन् । अर्का प्रत्याशी राममणि राईले सहमतिका लागि उम्मेदवारी फिर्ता गरेका छन् ।
खतिवडा र लुईटेलबीच संवादमार्फत विवाद मिलाउन चाहेमा अझै सहमति जुट्न सक्ने सम्भावना रहेको क्षेत्रीय प्रतिनिधिहरूको भनाइ छ । दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने निश्चित भएपछि बिहीबार बिहानदेखि मतदानको आवश्यक तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । सर्वसम्मत रूपमा नेतृत्व चयन भएका खिजीदेम्बा गाउँपालिका सभापतिमा मानबहादुर महतरा, मोलुङमा फणिन्द्र ढकाल, सिद्धिचरण नगरपालिकामा निबन्ध श्रेष्ठ, लिखु गाउँपालिकामा गोपाल खड्का, सुनकोशी गाउँपालिकामा विष्णु आलेमगर, चम्पादेवी गाउँपालिकामा विष्णु पुलामी मगर र चिशंखुगढी गाउँपालिकामा रामचन्द्र कार्की सभापति भएका छन् । सबै स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भए पनि मानेभञ्ज्याङमा मतदान हुने भएपछि पूर्वसांसद खतिवडामाथि सहमति जुटाउने भूमिकाबाट विमुख भएको आरोपसमेत लागेको छ ।


