इटहरी स्  लगातार वर्षा हुने पूर्वानुमानसँगै सम्भावित जोखिम न्यूनीकरणका लागि पाँचथर जिल्लाका सबै विद्यालय दुई दिन बन्द हुने भएका छन्।

जिल्ला प्रशासन कार्यालय पाँचथरले मौसम पूर्वानुमान महाशाखाले असोज ८ र ९ गते वर्षाको उच्च जोखिम रहने प्रक्षेपण गरेपछि जिल्लाका शैक्षिक संस्था बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार मौसम विभागको पूर्वानुमानलाई आधार बनाएर बिहीबार र शुक्रबार जिल्लाका विद्यालयमा आकस्मिक बिदा दिन भनिएको छ। उनका अनुसार सम्भावित वर्षा, डुबान तथा अन्य प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। प्रशासनको आग्रहपछि फिदिम नगरपालिका र याङवरक गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन्। अन्य स्थानीय तहले पनि प्रशासनको आग्रहअनुसार विद्यालय बन्द गर्ने तयारी गरेका छन्।

मौसम विभागले असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न क्षेत्रमा वर्षाको जोखिम रहने जनाएको छ। सोही पूर्वानुमानका आधारमा विद्यालयमा अध्ययनरत बालबालिकाको आवतजावतमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै दुई दिन पठनपाठन रोक्ने निर्णय गरिएको प्रशासनले जनाएको छ। बिहीबार र शुक्रबार विद्यालय बन्द भएपछि शनिबार र आइतबारको नियमित बिदासमेत जोडिँदा पाँचथरका विद्यालय लगातार चार दिन बन्द हुने भएका छन्।

पाँचथरमा वर्षा जारी

यसैबीच पाँचथरमा वर्षा निरन्तर भइरहेको छ। बिहीबार साँझदेखि जिल्लाका विभिन्न क्षेत्रमा पानी परिरहेको जनाइएको छ। जिल्लाभर मध्यम वर्षा भइरहे पनि हालसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यद्यपि वर्षा निरन्तर भइरहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। प्रशासनले मौसमको अवस्था र सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको जनाएको छ।