इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिर्तामोड नगर अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनलाई लिएर पार्टीभित्रको प्रतिस्पर्धा थप पेचिलो बनेको छ।
नगर सभापतिका आकांक्षीमध्ये केहीले उम्मेदवारी फिर्ता लिएर कुलप्रसाद संग्रौलालाई समर्थन गर्ने सहमति गरेपछि त्यसको प्रतिरोधमा अर्को समूह पनि प्यानलसहित मैदानमा उत्रिने तयारीमा जुटेको हो। संग्रौलालाई समर्थन गर्ने सहमति बनेपछि नगर सभापतिको दौडबाट बाहिरिएका सूर्यप्रसाद कन्दङवा र सचिव पदका आकांक्षी उत्तम कटुवालसहितको समूहले छुट्टै प्यानल बनाएर निर्वाचनमा जाने तयारी गरेको बताइएको छ। कन्दङवाको नेतृत्वमा तयार भएको प्यानलबाट सभापतिमा सूर्यप्रसाद कन्दङवा, उपसभापतिमा सञ्जीव चापागाईं, महिला उपसभापतिमा सुष्मा पौडेल भण्डारी, सचिवमा उत्तम कटुवाल र सहसचिवमा राजीव धिमाल उम्मेदवार बन्ने तयारीमा छन्।
बिर्तामोड नगर सभापतिका लागि यसअघि पाँचजना आकांक्षी देखिएका थिए। तीमध्ये आशिष वन र रमेश चौधरीले आफ्नो दाबी छाडेर संग्रौलालाई समर्थन गर्ने सहमति गरेपछि नगर सभापतिको प्रतिस्पर्धा मुख्यतः दुई समूहबीच केन्द्रित हुने अवस्था बनेको हो। वन र चौधरीले संग्रौलालाई समर्थन गर्ने सहमति गरेसँगै संग्रौलाको पक्षमा नगर तहका नेताहरू तथा प्रतिनिधिहरूलाई समेटेर साझा समूह निर्माणको प्रयास अघि बढेको थियो। यही सहमतिले आफूहरूको राजनीतिक स्थान कमजोर पार्न सक्ने आकलनपछि कन्दङवा पक्षले पनि आफ्नै समूहलाई व्यवस्थित गर्दै निर्वाचनको तयारी थालेको हो। यससँगै बिर्तामोड कांग्रेसको नगर अधिवेशनमा व्यक्तिगत उम्मेदवारीभन्दा समूहगत समीकरण महत्वपूर्ण बन्ने देखिएको छ। सभापतिका दुई प्रमुख दाबेदारबीच प्रतिस्पर्धा हुने सम्भावना बढेपछि दुवै पक्षले आफ्नो समूहमा पदाधिकारी तथा प्रतिनिधिहरूलाई समेट्ने प्रयास तीव्र बनाएका छन्।
कांग्रेसको नगर अधिवेशनमा नेतृत्व चयनका लागि भोलि बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ। मनोनयनपछि मात्रै कुन–कुन पदमा कति उम्मेदवारी पर्छ भन्ने औपचारिक रूपमा स्पष्ट हुनेछ। सचिव पदका उम्मेदवार बन्ने तयारीमा रहेका कटुवालले आफूहरू अझै पनि सर्वसम्मतिको पक्षमा रहेको बताए। तर सहमति हुन नसके आफ्नो समूह प्यानलसहित निर्वाचनमा सहभागी हुने उनको भनाइ छ। बिर्तामोड कांग्रेसमा यसपटकको अधिवेशनलाई केवल नेतृत्व चयनका रूपमा मात्र नभई नगर संगठनभित्रको आगामी राजनीतिक समीकरण निर्धारण गर्ने अवसरका रूपमा समेत हेरिएको छ। सभापतिको दौडमा रहेका आकांक्षीहरूले अन्तिम समयमा बनाएको गठबन्धन र त्यसको प्रतिक्रियामा बनेको अर्को प्यानलले निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाउने संकेत गरेको छ। अब उम्मेदवारी दर्ताको समयसम्म हुने सहमति, असहमति र नयाँ समीकरणले बिर्तामोड कांग्रेसको चुनावी तस्वीर कस्तो बन्छ भन्ने निर्धारण गर्नेछ।


