इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुरका आठवटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै जिल्लाको कांग्रेस राजनीति अब क्षेत्रीय तहको शक्ति परीक्षणतर्फ केन्द्रित भएको छ।
पालिका तहमा नेतृत्व चयनको प्रक्रिया सकिए पनि उदयपुर कांग्रेसभित्रको राजनीतिक प्रतिस्पर्धा भने सकिएको छैन। बरु पालिका तहमा निर्वाचित सभापति, पदाधिकारी र प्रतिनिधिहरूले आगामी क्षेत्रीय तथा माथिल्लो तहमा बनाउने समीकरणले जिल्लाको कांग्रेस राजनीतिलाई थप रोचक बनाउने देखिएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पालिका अधिवेशन असोज ७ गते र प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यक्रम छ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म गर्ने तय भएको छ।
तीन नगरमा निर्वाचन, पाँच पालिकामा सहमति
उदयपुरका आठ स्थानीय तहमध्ये त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा नेतृत्व चयनका क्रममा प्रतिस्पर्धा भएको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने कटारी नगरपालिका, रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा भने नेतृत्व सर्वसम्मत चयन भएको छ। जिल्ला सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकाको सभापतिमा प्रकाशकुमार खड्का दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। नगर उपसभापतिमा उमेश बुढाथोकी र शर्मिला थापा, सचिवमा उद्धव काफ्ले तथा सहसचिवमा तीर्थकुमार श्रेष्ठ चयन भएका छन्। चौदण्डीगढी नगरपालिकाको सभापतिमा पर्वत दाहाल निर्वाचित भएका छन्। तरुण दलका पूर्वअध्यक्षसमेत रहेका दाहाललाई निर्वाचित नगर सभापतिमध्ये तुलनात्मक रूपमा युवा नेताका रूपमा हेरिएको छ। चौदण्डीगढीमा उपसभापतिमा उषा राई र राकेशकुमार चौधरी, सचिवमा केदारकुमार केसी तथा सहसचिवमा आरतीकुमारी चौधरी निर्वाचित भएका छन्।
चार जनाबीचको प्रतिस्पर्धामा टंक आचार्य विजयी
बेलका नगरपालिकामा भने सभापति पदका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो। त्यसमा टंक आचार्य ८४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी लभराज अधिकारीले ५६, राजेन्द्र तामाङले ४० र प्रेम अधिकारीले ८ मत प्राप्त गरेका छन्। बेलका नगर कार्यसमितिको उपसभापतिमा प्रमिला विश्वकर्मा र राजेन्द्र बिष्ट, सचिवमा सुजता राई तथा सहसचिवमा झमक कार्की चयन भएका छन्।
निर्वाचन क्षेत्र नम्बर २ मा सर्वसम्मति
उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका पाँच स्थानीय तहमा भने नेतृत्व चयन सर्वसम्मत भएको छ। कटारी नगरपालिकाको सभापतिमा पुष्कर खड्का, रौतामाई गाउँपालिकाको सभापतिमा घमानसिंह थापामगर, उदयपुरगढी गाउँपालिकाको सभापतिमा चण्डेश्वर श्रेष्ठ, ताप्ली गाउँपालिकाको सभापतिमा महादेव रास्कोटी तथा लिम्चुङबुङ गाउँपालिकाको सभापतिमा हिकमत राई चयन भएका छन्। यसरी हेर्दा उदयपुर कांग्रेसको पालिका तहमा एकातिर प्रतिस्पर्धामार्फत नेतृत्व चयन भएको छ भने अर्कोतर्फ सहमतिका आधारमा नेतृत्व अघि सारिएको छ।
पालिका अधिवेशनपछि बदलिँदै समीकरण
पालिका तहमा नेतृत्व चयन भएसँगै अब निर्वाचित नेतृत्वको राजनीतिक भूमिका स्थानीय तहमा मात्र सीमित रहने छैन। आगामी प्रदेशसभा क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रीय समिति तथा महाधिवेशन प्रतिनिधि चयनमा पालिका तहबाट निर्वाचित नेतृत्व र क्षेत्रीय प्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुनेछ। यसकारण पनि पालिका अधिवेशनलाई कांग्रेसभित्र आगामी क्षेत्रीय नेतृत्वको आधार तयार गर्ने चरणका रूपमा हेरिएको छ। कुन पालिकाबाट निर्वाचित सभापति र प्रतिनिधि कुन समूहसँग नजिक छन् भन्ने विषयले आगामी निर्वाचनमा समीकरण निर्माणमा प्रभाव पार्ने देखिन्छ। विशेषगरी त्रियुगा, चौदण्डीगढी र बेलकामा प्रतिस्पर्धाबाट नेतृत्व चयन भएकाले त्यहाँ बनेका राजनीतिक समीकरणको प्रभाव क्षेत्रीय तहसम्म पुग्न सक्नेछ। निर्वाचन क्षेत्र नम्बर २ का पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन भएकाले त्यहाँको समीकरण पनि आगामी क्षेत्रीय अधिवेशनमा महत्वपूर्ण बन्ने देखिन्छ।
तर उदयपुर कांग्रेसको विवाद सकिएको छैन
पालिका अधिवेशन सम्पन्न भए पनि उदयपुर कांग्रेसभित्रको विवाद भने कायमै छ। कांग्रेसको आधिकारिक महाधिवेशन प्रक्रियासँगै जिल्लामा अर्को समूहले समानान्तर रूपमा अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। उदयपुर कांग्रेसमा विवाद सतहमै आएपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षले त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको संयोजकत्वमा छुट्टै जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको सार्वजनिक विवरणसमेत आएको छ। उक्त समूहले असोज १५ गतेदेखि वडा, पालिका हुँदै जिल्ला तहको छुट्टै अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। यसअघि नै उदयपुर कांग्रेसको आधिकारिक जिल्ला कार्यसमितिले छुट्टै रूपमा प्रचार गरिएको भेलालाई पार्टीको आधिकारिक कार्यक्रम नभएको भन्दै नेता–कार्यकर्तालाई सहभागी नहुन आग्रह गरेको थियो। यसले पालिका तहमा एउटा प्रक्रियाबाट नेतृत्व चयन भइसके पनि जिल्लामा कांग्रेसको महाधिवेशन प्रक्रिया एउटै धारमा अघि बढ्ने वा समानान्तर रूपमा अगाडि बढ्ने भन्ने प्रश्नलाई अझै जीवित राखेको छ।
अब क्षेत्रीय अधिवेशनमा नजर
उदयपुर कांग्रेसका लागि अबको तत्कालीन राजनीतिक चासो क्षेत्रीय अधिवेशनमा केन्द्रित हुनेछ। पालिका तहमा निर्वाचित सभापति, पदाधिकारी र वडा तहबाट आएका क्षेत्रीय प्रतिनिधिहरूले प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय तहमा कस्तो समीकरण बनाउँछन् भन्ने विषयले जिल्लाको आगामी राजनीतिक शक्ति सन्तुलन निर्धारण गर्नेछ। पालिका तहमा सहमति र प्रतिस्पर्धाको मिश्रित परिणाम आएको अवस्थामा अब क्षेत्रीय नेतृत्व चयनमा पनि सहमति कायम हुन्छ वा निर्वाचनको बाटो रोजिन्छ भन्ने चासो बढेको छ। त्यसमाथि पार्टीभित्र दुई अलग अधिवेशन प्रक्रियाको तयारी भइरहेको अवस्थामा उदयपुर कांग्रेसको आगामी क्षेत्रीय र जिल्ला तहको नेतृत्व चयन थप पेचिलो बन्ने देखिन्छ। यसकारण पालिका अधिवेशनबाट निर्वाचित नेतृत्वको व्यक्तिगत जित–हारभन्दा अब उनीहरूले निर्माण गर्ने समूहगत समीकरण र त्यसको प्रभाव नै उदयपुर कांग्रेसको आगामी अधिवेशनको मुख्य विषय बन्ने भएको छ।


