इटहरी। भारी वर्षाको सम्भावना तथा बाढी, पहिरो, कटान, गेग्रान बहाव र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार असोज ७ देखि ११ गतेसम्म राति ९ देखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको हो। 

प्रशासनका अनुसार भेडेटारदेखि रवि–राँके सडकखण्ड, मुलघाटदेखि पाँचथरको सीमासम्मको तमोर करिडोर तथा भेडेटारबाट तेह्रथुम, सङ्खुवासभा, भोजपुर र पाँचथरतर्फ जाने–आउने सवारीसाधन र जोखिमयुक्त भित्री सडकमा रातिको समयमा आवागमन रोक लगाइने जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख प्रशासकीय अधिकृत रामजी पौडेलले जानकारी दिनुभयो।

अत्यन्त जरुरी नभई टाढा तथा रातिको समयमा यात्रा नगर्न प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई पूर्वसूचना र चेतावनीका आधारमा सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा खोला, खहरे, नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि प्रशासनले आग्रह गरेको छ।