इटहरी। जल तथा मौसम विज्ञान विभागले भारी तथा अति भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाका प्रमुख सडकमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा जारी सूचनाअनुसार असोज ८ गते बेलुकादेखि असोज ११ गते बिहानसम्म प्रत्येक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाका सडकमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको हो । गत वर्षको अविरल वर्षापछि मेची राजमार्गलगायत जिल्लाका भित्री सडक तथा बाटाघाटा पूर्णरूपमा सुरक्षित नभई जोखिमपूर्ण र जीर्ण अवस्थामा रहेको प्रशासनले जनाएको छ ।

हाल पुनः भारी तथा अति भारी वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै मेची राजमार्ग, मेची करिडोरलगायत जिल्लाका सबै सडकमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ । प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

अत्यावश्यक काम परेमा नजिकको प्रहरी प्रशासनसँग समन्वय गरेर मात्र यात्रा गर्न तथा अत्यावश्यक सेवाका सवारी साधनसमेत नजिकको सुरक्षा निकायसँग समन्वय गरेर सञ्चालन गर्न अनुरोध गरिएको छ । मौसम प्रतिकूल रहेका बेला सडक तथा पुलको अवस्था थप जोखिमपूर्ण हुन सक्ने भएकाले जिल्ला प्रशासन कार्यालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।