इटहरी । जिल्ला अस्पताल सुनसरीमा पछिल्लो दुई महिनायता सेवा प्रवाह र व्यवस्थापन सुधारका प्रयासलाई तीव्रता दिइएको छ । 

नयाँ मेसु डा. सन्तोष प्रसाद साह आएपछि अस्पतालको सेवा व्यवस्थित बनाउने र सेवाग्राहीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको हो । अस्पतालका मेसु डा. सन्तोष प्रसाद साहले अस्पतालको सेवा सुधारसँगै अस्पतालमा उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीको चाप बढ्न थालेको बताउनुभयो । अस्पतालमा विशेषज्ञ सेवाको विस्तारसँगै नेपालमै पहिलोपटक जिल्ला अस्पतालमा फोरेन्सिक डाक्टर सहितको सेवा सुरु गरिएको उहाँले दाबी गर्नुृभएको छ ।

त्यस्तै, स्वास्थ्य बीमामार्फत उपलब्ध हुने औषधिको अभाव हुन नदिने गरी व्यवस्थापन भइरहेको उहाँले बताउनुभयो । एक साताभित्र बीमामा प्राप्त हुने सबै औषधि अस्पतालमै उपलब्ध हुने निमित्त मेसु डा. साहको दाबी छ । निमित्त मेसु डा. साहले अस्पतालमा रहेको ब्लड बैंकलाई व्यवस्थित गर्दै स्टोरेज क्षमता विकासका लागि पहल गरिरहेको र त्यसको लागि रेडक्रसले दुईजना कर्मचारी उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेको समेत जानकारी दिनुभयो । 

अस्पतालमा देखिएका कमीकमजोरी पहिचान गरी क्रमशः सुधार गर्दै लैजाने अस्पताल प्रशासनको प्रतिबद्धता छ । सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै जिल्ला अस्पताललाई व्यवस्थित र भरोसा योग्य स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्य राखिएको अस्पताल प्रशासनले जनाएको छ ।