इटहरी । कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले सञ्चारकर्मीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलोपटक आयोजित अन्तरक्रियामा उहाँले प्रदेशको स्वास्थ्य अवस्था, हालसम्मका प्रयास र आगामी रणनीतिक योजनाबारे जानकारी गराउनुभयो। कार्यक्रममा मन्त्री पराजुलीले प्रदेशअन्तर्गतका अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद केन्द्रहरूको अनुगमन गर्दा देखिएका समस्या समाधानलाई प्राथमिकतामा राखेको बताउनुभयो। आवश्यक जनशक्ति, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य सामग्रीको उचित व्यवस्थापन गरी सेवा प्रवाहलाई छिटो–छरितो र प्रविधिमैत्री बनाउन मन्त्रालय लागिपरेको उहाँको भनाइ थियो।
मन्त्री पराजुलीले आगामी योजना प्रस्तुत गर्दै जिल्ला अस्पतालहरूको स्तरोन्नति, शय्या विस्तार, आयुर्वेद केन्द्रलाई अस्पतालका रूपमा विकास गर्ने र निःशुल्क रगत तथा रक्तजन्य पदार्थ उपलब्ध गराउने घोषणा गर्नुभयो। साथै, प्रदेशका सबै अस्पतालमा जलन उपचार सेवा र विद्यालय नर्सिङ कार्यक्रम विस्तार गर्दै अनुगमन तथा नियमनलाई थप पारदर्शी बनाइने उहाँले प्रतिबद्धता जनाउनुभयो।
सञ्चारकर्मीका प्रश्न तथा सुझावको उत्तर दिँदै मन्त्री पराजुलीले स्वास्थ्य क्षेत्रका गुनासा उजागर गर्न मिडियाको भूमिका महत्त्वपूर्ण हुने भन्दै निरन्तर सहकार्यको अपेक्षा गर्नुभयो। कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले हालै आर्थिक वर्ष २०८३÷८४ को वार्षिक कार्यक्रम कार्यान्वयन मार्गदर्शन समेत सार्वजनिक गरिरहेको छ ।


