इटहरी । स्वर्णिम साहित्य समाज बराहक्षेत्र–३ को सातौँ वार्षिक साधारण सभा बराहक्षेत्र–५ को वडा सभाहलमा सम्पन्न भएको छ । 

समाजका अध्यक्ष शरण लिम्बूको अध्यक्षता, कोशी प्रदेश सरकारकी राज्यमन्त्री सपना परियारको प्रमुख आतिथ्य र नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ अस्मिता विष्टको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। समारोहमा हेटौँडाका कवि यस लामाको कविता कृति ‘बहिस्कृत आवाज’माथि विचार विमर्श गरिएको थियो ।

कवि दिपा मग्रातीले सहजीकरण गरेको सो विमर्शमा कवि रेखा सुवेदी र राज माङ्लाकले कृतिमाथि टिप्पणी गर्नुभएको थियो। सोही अवसरमा समाजका उपाध्यक्ष एवं गजलकार लक्ष्मण कटुवाललाई ‘आन्तरिक स्वर्णिम साहित्य सम्मान–२०८३’ प्रदान गरिएको छ । यसअघि यो सम्मान शारदा निरौला शारु, दिपा मग्राती र अच्युत भट्टराईले प्राप्त गरिसक्नुभएको छ ।

सभामा कोषाध्यक्ष दिपा मग्रातीले आर्थिक र अध्यक्ष लिम्बूले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। कार्यक्रममा पूर्वेली साहित्यिक मञ्चका जीवन सापकोटा, मुनवीम एकेडेमीका प्रिन्सिपल देबेन्द्र बिष्ट र वडाअध्यक्ष रोहित काफ्लेले शुभकामना मन्तव्य राख्नुभएको थियो। सहसचिव शारदा निरौला शारुको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव सविता फागो चोङ्बाङले गर्नुभएको थियो।