इटहरी । धरान उपमहानगरपालिका–पानमारा क्षेत्रमा रहेको सेराखोलाबाट आउने पानीको अनियन्त्रित बहावलाई व्यवस्थित गर्न खोलाको दुवैतर्फ ड्याम निर्माणको काम अघि बढाइएको छ ।
बर्खायाममा खोलाको पानी बस्तीमा सिधै प्रवेश गर्दा धरानका विभिन्न क्षेत्रसँगै इटहरी क्षेत्रमा समेत बाढी र डुबानको उच्च जोखिम बढेकाले सम्भावित क्षति न्यूनीकरण गर्न पूर्वतयारीस्वरूप यो व्यवस्थापन थालिएको हो। इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगीता कुमारी चौधरीको नेतृत्वमा गएको संयुक्त टोलीले स्थलगत अनुगमन गर्दै निर्माण तथा व्यवस्थापनको काम अघि बढाएको छ। अनुगमन टोलीमा इटहरीका प्रमुख प्रशासकीय अधिकृत, वातावरण शाखा प्रमुखका साथै धरान र इटहरीका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
लगातारको वर्षाले सुनसरीका विभिन्न क्षेत्रमा बाढी र डुबानबाट जनधनको क्षति हुने गरेकाले सेराखोलाको बहावलाई सुरक्षित दिशातर्फ मोड्न बाँध बाँधिएको उपप्रमुख चौधरीले बताउनुभयो। उहाँका अनुसार सुनसरी जिल्ला प्रशासन कार्यालय, इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकाबीचको समन्वयमा नागरिकको सुरक्षा र जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम भइरहेको छ। बाढी आउनुअघि नै पूर्वतयारी गरी जोखिमयुक्त क्षेत्रमा संरचना निर्माण गरिएकाले यस प्रयासले आगामी वर्षायाममा धरान र इटहरी क्षेत्रमा देखिने बाढी तथा डुबानको समस्या न्यूनीकरणमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।


