इटहरी । युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा आगामी असोज १४ देखि २० गतेसम्म ‘सीप तथा रोजगार मेला’ आयोजना गर्ने भएको छ । 

‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मेलाको तयारी स्वरूप मन्त्रालयले बिहीबार स्थानीय तहका प्रमुख, जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीहरूसँग छलफल सुरु गरेको छ। श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गरी उत्पादनशील रोजगारी सिर्जना गर्ने उद्देश्यले यो मेला आयोजना गर्न लागिएको हो। छलफलका क्रममा मन्त्रालयका सचिव दीपक काफ्लेले मेलामा उद्योग, सेवा, कृषि र निर्माण लगायत १० वटा विधाका ६५ वटा स्टल रहने जानकारी दिनुभयो ।

1 3

मेलाको मुख्य अवधारणा ‘माग–सीप तालिम–रोजगार’ लाई एउटै प्रणालीमा आबद्ध गरी रोजगारदाता र रोजगारी खोज्ने युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको काफ्लेले बताउनुभयो । तीनै तहका सरकार, निजी क्षेत्र र विकास साझेदारको सहकार्यमा हुने यस मेलामा सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गतका विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, सुन्दरहरैंचा नगरपालिका, दुहबी नगरपालिका र कटहरी गाउँपालिकाको विशेष सहभागिता रहनेछ ।

2 1

साथै, कोशी प्रदेशका सम्पूर्ण १३७ वटै स्थानीय तहलाई मेलामा सहभागी गराइने र यसले उद्योगी, श्रमिक, शैक्षिक संस्था तथा सरकारबीचको समन्वयलाई थप प्रभावकारी बनाउने मन्त्रालयको विश्वास छ ।