इटहरी । निरन्तरको वर्षापछि आएको पहिरो र बाढीले पाँचथरका मुख्य सडक अवरुद्ध भएका छन्। फिदिम–फालौट सडक बिहीबार साँझदेखि तथा पाँचथर र ताप्लेजुङ हुँदै धरान, विराटनगरसहित तराईका अन्य जिल्लालाई जोड्ने तमोर करिडोर बिहीबार बिहानैदेखि अवरुद्ध भएको हो। फिदिमदेखि नाङ्गिन, याङनाम, सिदिन, प्राङबुङ हुँदै भारतको पश्चिम बङ्गाल जोड्ने फिदिम–फालौट सडकको फिदिम र फालेलुङ गाउँपालिकाको सीमावर्ती आकाशेभञ्ज्याङनजिक लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको स्थानीय टीका जवेगुले बताउनुभयो। उक्त स्थानमा यस वर्ष पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ। केही दिनअघि मात्रै पहिरो पन्छाएर फालेलुङ गाउँपालिकाले सडक सञ्चालनमा ल्याएको थियो।
पाँचथर र धनकुटाको सीमा छुट्याउने नावा खोलामा आएको बाढीले तमोर करिडोरसमेत अवरुद्ध भएको छ। तमोर करिडोर अवरुद्ध हुँदा पाँचथर र धनकुटा क्षेत्रमा दर्जनौँ सवारीसाधन रोकिएका छन्। रोकिएका सवारीसाधनमध्ये अधिकांश मालवाहक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो। जिल्लाका राँके–रवि, जोरपोखरी–एकतीनलगायत सडकमा समेत ठाउँ–ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। वर्षाका कारण सडकमा बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय पाँचथरले प्रेस विज्ञप्ति जारी गर्दै जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरेको छ। रातको समयमा सवारीसाधन सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताउनुभयो।

