इटहरी । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो भएको भीषण आगलागीमा आमा छोरा घाइते भएका छन् ।प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा भएको आगलागीमा लाक्पाचुङ शेर्पा ९डण्डु० की श्रीमती ४८ वर्षीया दिकी शेर्पा र छोरा २५ वर्षीय फुर्साङ शेर्पा घाइते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी विन्देश्वर यादवका अनुसार आमा छोरा घाइते हुनुभएको छ । घाइते आमा छोराको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । अचानक घरमा आगलागी हुँदा भाग्ने क्रममा उहाँहरु घाइते हुनुभएको बताइएको छ । शेर्पाको घरबाट दिउँसो करिब १ः४० बजेतिर अचानक आगलागी सुरु भएको थियो । शेर्पाको घरबाट सुरु भएको आगोले १० वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट शेर्पा र स्थानीय भीम लङ्वा लिम्बूको दुई–दुईवटा घर जलेर नष्ट भएको छ । उहाँहरुबाहेक चन्द्रप्रसाद पौडेल, यामबहादुर आङ्बुहाङ, घनश्याम खरेल, राजु शेर्पा, सुकबिर लिम्बू र राजेन्द पौडेलको एक–एकवटा घर जलेर नष्ट भएको छ ।
आगलागीबाट घर धनीसमेत १५ परिवार विस्थापित हुनुभएको छ । कोठा भाडामा बस्ने अनिसा विक, सुनम लिम्बू, लाक्पा शेर्पा, श्याम चोङ्वाङ, आरती लिम्बू, काशीनाथ चुडाल, विनु लिम्बू, मोहन लिम्बू र खम्बासिंह लिम्बूको परिवार विस्थापित हुनुभएको छ । सबै परिवारका गरी ५८ जना विस्थापित हुनुभएको छ । आगलागीका कारण विस्थापित हुने ३० जना पुरुष र २८ महिला रहनुभएको ताप्लेजुङका प्रहरी प्रमुख कमल बजगाइँले जानकारी दिनुभयो । यता आगलागीबाट ध्वस्त भएका घरहरुमा पसल व्यवसाय सञ्चालनमा रहेकाले ठुलो मूल्य बराबरको धनमाल जलेर नष्ट अनुमान गरिएको छ ।आगो नियन्त्रणमा आइसक्दा समय बितिसकेको र निरन्तरको वर्षाका कारण क्षतिको विवरण सङ्कलन गर्नमा ढिलाइ भएको प्रनाउ बजगाइँले बताउनुभयो । उहाँका अनुसार आगो नियन्त्रणपछि भने जलेर नष्ट भएको सामग्री तथा क्षतिको विवरण सङ्कलन गर्ने कार्य सुरु भएको छ । क्षतिको पूर्ण विवरण शुक्रबार सम्मा आउने उहाँले जानकारी दिनुभयो ।
यता अग्निपीडितलाई तत्कालीन राहतस्वरुप नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र ताप्लेजुङ उद्योग बाणिज्य सङ्घले बिहीबार साँझ खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका सामग्री वितरण गरेको जनाइएको छ । आगलागीपछि अग्निपीडितहरु आफन्त, इष्टमित्र र छरछिमेकीको आश्रय लिएर बस्नुभएको पनि प्रहरीले जानकारी दिएको छ ।

