इटहरी स् वर्षा सुरु हुनासाथ याङवरक गाउँपालिका–१ चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा रातभर जागै बस्न बाध्य छन् ।
बाढीपहिरोले बस्ती नै जोखिममा परेपछि पानी पर्नासाथ घर छाडेर सुरक्षित स्थानतर्फ जानुपर्ने अवस्था रहेकाले स्थानीयवासीमा त्रास बढेको हो । गत जेठ ८ गते बिहान उक्त क्षेत्रका सयौँ स्थानमा पहिरो झर्नुका साथै अधिकांश खोलाखोल्सीमा बाढी आएको थियो । बाढीपहिरोले ठूलो क्षति पुर्याए पनि अन्यत्र बसाइँ सर्न सक्ने अवस्था नभएपछि स्थानीयवासी जोखिमपूर्ण स्थानमै बस्दै आएका छन् ।
बिरुवा टोलमा बसोबास गर्ने साविक च्याङथापू गाविसका अध्यक्ष शङ्कर गुरुङको घर आसपासमा धाँजा फाटेको छ । पहिरोका कारण घर लच्किएको छ भने ढुङ्गामाटोको गारो लगाइएको भुइँतला भत्किएको छ । बिरुवा टोलको पुछारमा रहेको मेवा खोलामा भीषण पहिरो झर्न थालेको छ । विसं २०८० देखि क्रमशः पहिरो बढ्दै गएपछि बिरुवा टोल उच्च जोखिममा परेको गुरुङले बताए । स्थानीयवासीसँग सुरक्षित स्थानमा घर बनाउन पर्याप्त जग्गा पनि छैन । गुरुङका अनुसार धाँजा फाटेको स्थानभन्दा माथि रहेको भाइको जग्गामा घर बनाउने अवस्था छैन, किनकि त्यहाँ पनि पहिरो पुग्ने जोखिम छ ।
चाम्लिङडाँडाका रविन राई र रामकुमार राईको परिवार पनि यस्तै जोखिममा छन् । ठाडे खोलामा आएको बाढी र मेवा खोलाबाट बढ्दै गएको पहिरोका कारण रविन राईसहित आधा दर्जन घर उच्च जोखिममा छन् । राईका अनुसार पानी पर्नासाथ स्थानीयवासी डाँडातिर भाग्नुपर्ने अवस्था छ । राति पानी परेमा समयमै भाग्नसमेत नसकिने त्रास स्थानीयवासीमा छ । विसं २०८० मा च्याङथापूका अधिकांश टोलमा बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि पुनः विपद् नआउला भन्ने आशामा स्थानीयवासी बसेका थिए । तर यस वर्ष विगतभन्दा ठूलो विपद् आएपछि उनीहरूको तनाव थपिएको स्थानीय इन्द्रबहादुर राईले बताए । च्याङथापूको कोप्चेका भगिश्वर बेघाको गाईगोठ र शौचालय पहिरोले बगाएको छ । ठूलो ढुङ्गा झरेर तीनतले घरको मूल संरचना हल्लिएको छ भने बरण्डाको भाग भाँचिएको छ । घरमा झरेको पहिरो एक महिना लगाएर पन्छाए पनि उनी अझै भल काट्दै घर जोगाइरहेका छन् ।
समथर ठाउँ नहुँदा बेघा परिवारले शौचालयसमेत बनाउन सकेका छैनन् । पहिरोले शौचालय बगाएपछि अर्कैको घरको शौचालय प्रयोग गर्नुपरेको बेघाकी श्रीमती तिजमाया बेघाले बताइन् । कोप्चेका धनकुमार बेघाले पहिरोका कारण स्थानीयवासी जोखिमपूर्ण जीवन बिताउन बाध्य भएको बताए । उनका अनुसार सडक, विद्युत् र खानेपानीको समेत समस्या छ । सिस्नेका यामबहादुर मगरको घरसम्म भीमकाय पहिरो आइपुग्न लागेको छ । घरछेउको पहिरोका कारण मगरसहित पदमसिंह, सुजन र चन्द्रबहादुर मगर बसाइँ सर्नुपर्ने अवस्थामा पुगेका छन् ।
ठिङ्गेपुरका बलबहादुर नेपालीका अनुसार बाढीपहिरोका कारण भाङटारका चार र सिस्नेका चार घर पूर्ण रूपमा प्रभावित भएका छन् । ती घरमा भविष्यमा बस्न सक्ने अवस्था नरहेको उनले बताए । उनका अनुसार सिस्ने, भाङटार, बिरुवा र कोप्चे टोलमा ठूलो क्षति भएको छ । गाउँपालिका र वडाले अनुगमन गरेर सामान्य राहत उपलब्ध गराए पनि धेरै संरचनामा क्षति पुगेकाले स्थानीयवासीको जीवन कष्टकर बनेको छ । पहिरोका कारण खानेपानी र सिँचाइका योजना क्षतिग्रस्त भएका छन् । सिस्ने र कोप्चेको आवतजावतसमेत बन्द भएको नेपालीले बताए । याङवरक–१ का वडासदस्य नरबहादुर गुरुङका अनुसार चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेमा बाढीपहिरोले दर्जनौँ घरपरिवार जोखिममा परेका छन् । बस्ती नै जोखिममा परेपछि अन्यत्र जाने अवस्था नहुँदा वर्षा हुनासाथ स्थानीयवासी जागै बस्नुपर्ने अवस्था रहेको उनले बताए ।


