इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिर्तामोड नगर कार्यसमितिको सभापतिमा कुलप्रसाद संग्रौला निर्वाचित भएका छन्।
सभापतिका लागि भएको निर्वाचनमा संग्रौलाले १८४ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी सूर्यप्रसाद कन्दङ्वालाई २९ मतले पछि पारे। कन्दङ्वाले १५५ मत प्राप्त गरेपछि संग्रौला बिर्तामोड नगर कांग्रेसको नयाँ सभापतिमा निर्वाचित भएका हुन्। नगर कार्यसमितिको महिला उपसभापतिमा सीतादेवी दाहाल निर्वाचित भएकी छन्। दाहालले १८५ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी सुष्मा भण्डारी पौडेलले १३९ मत प्राप्त गरिन्। खुला उपसभापतिमा रमेश चौधरी निर्वाचित भएका छन्। चौधरीले १२२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सञ्जीव चापागाईँले १०६ मत पाए। नगर सचिवमा आशिष वन निर्वाचित भएका छन्।
वनले २१५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उत्तमकुमार कटुवालले १११ मत प्राप्त गरे। सहसचिव पदमा भने प्रेमप्रसाद घिमिरे र राजेशबहादुर धिमालबीच मत बराबरी भएको छ। दुवै उम्मेदवारको मत बराबरी आएपछि सहसचिव पदको अन्तिम टुंगो निर्वाचन समितिले तोक्ने प्रक्रिया अघि बढाउने जनाइएको छ। बिर्तामोड नगर कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा नगरका विभिन्न वडाबाट आएका प्रतिनिधिहरू सहभागी भएका थिए। सभापतिसहित उपसभापति, सचिव र सहसचिव पदमा भएको प्रतिस्पर्धाले बिर्तामोड कांग्रेसको नयाँ नेतृत्व चयनलाई थप चासोको विषय बनाएको थियो।
सभापति पदमा संग्रौलालाई समर्थन जुटाउन यसअघि कांग्रेसभित्र सहमतिको प्रयाससमेत भएको थियो। आशिष वन र रमेश चौधरीलगायत नेताहरूले संग्रौलालाई समर्थन गर्ने सहमति बनेपछि उनको पक्ष बलियो देखिएको थियो। तर, अन्तिम चरणमा सूर्यप्रसाद कन्दङ्वाले पनि उम्मेदवारी कायम राखेपछि बिर्तामोड नगर कांग्रेसको सभापति निर्वाचनमार्फत चयन भएको हो। निर्वाचनको परिणामसँगै संग्रौलाले बिर्तामोड नगर कांग्रेसको नेतृत्व सम्हाल्ने भएका छन्।


