इटहरी। लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर नदी करिडोर क्षेत्रमा पहिरो खस्दा बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध भएको छ । सडकमा खसेको पहिरो हटाउने काम जारी रहेकाले यातायात सञ्चालनका लागि सडक खुलाउने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

वर्षाका कारण जिल्लाका विभिन्न सडक तथा ग्रामीण क्षेत्रमा पहिरो र सडक अवरोधको जोखिम बढेको छ । तमोर नदी करिडोरअन्तर्गत बहानन्देबाट मित्लुङ हुँदै लेलेपतर्फ जाने सडकमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो । पहिरो पन्छाउँदै सडक खुलाउने र सवारी सञ्चालन गराउने क्रम जारी रहेको जनाइएको छ । यसैबीच खोक्से खोला हुँदै सञ्चालन हुने मेची राजमार्ग खुले पनि सडकखण्डमा जोखिम कायम रहेको जनाइएको छ । लगातारको वर्षाका कारण पहिरो खस्ने तथा सडक अवरुद्ध हुनसक्ने सम्भावना रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरिएको छ ।

यता आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध भएको छ। दोभान–मैवाखोला पुलनजिक सडकमा पानी जम्नुका साथै सडक बिग्रिएपछि यातायात प्रभावित भएको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू दिपेनले बताउनुभयो। जिल्लाभर निरन्तर वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यान दिई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले आग्रह गरेको छ । वर्षाका कारण जिल्लाका कुनै पनि क्षेत्रमा समस्या, क्षति वा अन्य घटना भए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गरिएको छ ।

सम्बन्धित निकायले नदी तथा खोलाको बहाव बढेको विषयलाई लिएर अनावश्यक हल्ला तथा अफवाह नफैलाउन समेत कार्यालयले आग्रह गरेको छ । यसैबीच जिल्लाका ठूला तथा साना नदी तथा खोलामा पानीको बहाव बढेको छ । काबेली नदी, मेवाखोला, तमोर नदी, सिम्बुवा, घुन्सा खोला र पालुङ खोला लगायतका नदी तथा खोलामा बहाव बढे पनि हालसम्म बस्ती नै जोखिममा पर्ने अवस्था नरहेको जनाइएको छ ।