इटहरी। धनकुटाका सात स्थानीय तहमा नेपाली काँग्रेसले नगर कमिटी चयन गरेको छ ।
महालक्ष्मी नगरपालिका बाहेकका ६ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । महालक्ष्मीमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो । पार्टीको महाधिवेशन कार्यतालिकाअनुसार बुधबार र बिहीबार नगरको अधिवेशन गरिएको नेपाली काँग्रेस धनकुटाले जनाएको छ । जस अन्तरगत धनकुटा नगरपालिकामा अमित लो तामाङको सभापतित्वमा नयाँ समिति निर्वाचित भएको छ । त्यस्तै, पाख्रीबास नगरपालिकामा सन्तोष मानन्धर, महालक्ष्मी नगरपालिकामा परिवर्तनराज पौडेलको सभापतित्वमा नयाँ समिति निर्वाचित भएको छ ।
त्यस्तै, चौबिसे गाउँपालिकामा मणि चेम्जोङ, साँगुरीगढी गाउँपालिकामा यामकुमार मगर र सहिदभूमी गाउँपालिकामा टंक राई र छथर जोरपाटीमा पदमबहादुर भट्टराईको नेतृत्वमा नयाँ समिति निर्वाचित भएको नेपाली काग्रेस धनकुटाका सभापति दिनेश राईले जानकारी दिनुभयो । जिल्लाका ६ स्थानीय तहमा बुधबार नै अधिवेशन सम्पन्न भएको थियो । छथर जोरपाटीमा भने बिहीबार अधिवेशन भएको हो । अब शुक्रबार प्रदेशसभा क्षेत्रको निर्वाचनको तयारी गरिएको छ भने शनिबार प्रतिनिधिसभाको क्षेत्र र जिल्लाको अधिवेशन गर्ने कार्यतालिका रहेको छ ।


