इटहरी। नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ । नौ स्थानीय तहमध्ये सात पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने दुई पालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।

जिल्लाको एकमात्र नगरपालिका फुङ्लिङ नगरपालिकाको सभापतिमा विनोद गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । यस्तै, मिक्वाखोला गाउँपालिकामा पञ्च थलङ, आठराई त्रिवेणीमा सोम बिमली, फक्ताङलुङमा दिलकुमार लिम्बू, सिदिङ्वामा डेनी तामाङ, सिरिजङ्गामा पूर्णसिंह मावो लिम्बू र मैवाखोलामा टीकारा कार्की सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ ।

पाथीभरा याङवरक गाउँपालिकामा भने पालिका सभापतिका लागि निर्वाचन भएको थियो । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य राजकुमार कार्की ९राज० र नेविसङ्घका कार्यवाहक जिल्ला अध्यक्ष अर्जुन खिम्दिङबिच भएको प्रतिस्पर्धामा खिम्दिङ चार मतको अन्तरले विजयी हुनुभएको हो । त्यस्तै, मेरिङ्देन गाउँपालिकाको सभापतिमा विशाल लङ्वा निर्वाचित हुनुभएको छ । लङ्वाले ६३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी मेघराज चोङ्बाङले ४७ मत प्राप्त गर्दै १६ मतले पराजित हुनुभएको हो ।

यसअघि नेपाली काँग्रेसले जिल्लाका ६१ वटै वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरी वडा अधिवेशन सम्पन्न गरिसकेको छ । वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिले सम्बन्धित पालिका र क्षेत्रीय कार्यसमिति चयन गर्नेछन् । क्षेत्रीय प्रतिनिधि जिल्ला अधिवेशनका प्रतिनिधिसमेत हुने काँग्रेसले जनाएको छ । क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत चयन गर्नेछन् । पालिका अधिवेशनसँगै जिल्लामा काँग्रेसको आगामी जिल्ला अधिवेशनका लागि संगठनात्मक प्रक्रिया अघि बढेको छ ।