विराटनगर । मोरङ उद्योग व्यापार सङ्घको नवनिर्वाचित कार्यसमितिले कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोसँग भेटघाट तथा छलफल गरेको छ।

सङ्घका नवनिर्वाचित अध्यक्ष अनिल शाह, उपाध्यक्ष विकास बेगवानी, महासचिव अमित सारडा लगायतको टोलीले मन्त्री महतोसँग भेट गरी उद्योगी तथा व्यवसायीका विभिन्न समस्या र आगामी सहकार्यका विषयमा छलफल गरेको हो।

भेटका क्रममा मन्त्री महतोले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उद्योगी–व्यवसायीको हकहित र व्यवसाय प्रवर्द्धनका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न शुभकामना व्यक्त गर्नुभयो।

सङ्घका पदाधिकारीहरूले प्रदेश सरकारले उद्योगीका लागि गर्दै आएको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। विशेषगरी मन्त्रालयसँग हुने आगामी कार्यक्रम तथा सहकार्यमा साना उद्योगीलाई समेत समेट्दै स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा ध्यान दिनुपर्ने माग उनीहरूले राखेका थिए।

उनीहरूले स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा साना तथा घरेलु उद्योगको विकाससँगै स्थानीय स्तरमा रोजगारी सिर्जना र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने बताएका थिए।

मन्त्री महतोले उद्योगी–व्यवसायीबाट आएका सकारात्मक सुझावलाई सम्बोधन गर्दै मन्त्रालय र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले उद्योगी तथा व्यवसायीको हकहित, स्थानीय उत्पादनको प्रवर्द्धन र उद्योग क्षेत्रको विकासका लागि आफूले आवश्यक पहल गर्ने बताउनुभयो।