सुन्दरहरैंचा । विद्यार्थी राजनीतिबाट सुरु भएको राजनीतिक यात्रालाई निरन्तरता दिँदै सुन्दरहरैंचा नगरपालिका–४ का पूर्व वडा सदस्य रविन दाहाल नेपाली कांग्रेसको नगरस्तरीय नेतृत्वमा जिम्मेवारी लिने तयारीमा छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने नगर अधिवेशनमा उनले नगर उपसभापति पदमा उम्मेदवारी दिएका छन्।

धनकुटाबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिक यात्रा सुरु गरेका दाहालले विद्यार्थी राजनीतिसँगै नेपाली कांग्रेसको संगठनात्मक गतिविधिमा आफ्नो सक्रियता बढाउँदै लगे। तत्कालीन सशस्त्र द्वन्द्वका कारण धनकुटामा उत्पन्न परिस्थितिपछि सुन्दरहरैंचा–४ मा बसाइँ सरेका उनले त्यसयता स्थानीय सामाजिक तथा राजनीतिक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएका छन्।

पार्टी संगठन निर्माण, कार्यकर्ता परिचालन र स्थानीय तहका सामाजिक गतिविधिमा सक्रिय दाहालले कांग्रेसको वडा तहमा मेलमिलाप संयोजकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गरेको अनुभवले आफूलाई जनताका दैनिक समस्या, विकासका आवश्यकता र स्थानीय राजनीतिको व्यवहारिक पक्ष बुझ्न थप सहयोग पुगेको दाहालको भनाइ छ।

राजनीतिसँगै व्यवसाय र सामाजिक क्षेत्रमा समेत सक्रिय दाहालले युवा पुस्तालाई पार्टीको संगठनसँग जोड्दै कांग्रेसलाई स्थानीय तहमा थप सक्रिय र जनमुखी बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन्।

वडा सदस्यदेखि पार्टी संगठनका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभवलाई आधार बनाउँदै दाहालले नगर उपसभापतिको दाबी अघि सारेका हुन्। उनको उम्मेदवारीसँगै सुन्दरहरैंचा कांग्रेसको नगर नेतृत्वमा अनुभवसँगै नयाँ पुस्ताको सहभागिताको विषय पनि चर्चामा आएको छ।