इटहरी। पहाडी क्षेत्रमा वर्षा भएसँगै सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेज कन्ट्रोल रुमले शनिबार बिहान ६ बजे ३ लाख १६ हजार ७९५ क्युसेक पानीको बहाव मापन गरेको छ ।पानीको बहाव उच्च भएसँगै कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
बुधबार बेलुकादेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दै आएको हो । ब्यारेजमा पानीको बहाव अत्यधिक भएपछि ४३ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवले जानकारी दिनुभयो उहाँका अनुसार चतरा–कोशी पुल क्षेत्रमा शनिबार बिहान ६ बजे २ लाख ४३ हजार ७ क्युसेक पानीको बहाव मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीमा पानीको बहाव अझ बढ्न सक्ने बताइएको छ ।


