इटहरी। बजारमा खाना पकाउने एलपी ग्यास पूर्ण रूपमा सहज नहुँदै अविरल वर्षाका कारण मुख्य राजमार्ग अवरुद्ध हुँदा ग्यासलगायतका अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको छ ।  बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण उपत्यका जोड्ने पृथ्वी राजमार्ग बन्द हुँदा ग्यास आपूर्ति प्रभावित भएको हो । तीन साताअघि कृष्णभिरमा आएको पहिरोका कारण काठमाडौँ जोड्ने मुख्य राजमार्ग अवरुद्ध हुँदा उपत्यकामा ग्यास अभाव भएको थियो । मुख्य राजमार्ग खुलेर नियमित बुलेट आउन थालेको एक हप्तामै पुनः राजमार्ग अवरुद्ध हुँदा ग्यासलगायतका अत्यावश्यक वस्तुको आयात असहज हुने भएको छ । 

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले मुख्य राजमार्ग अवरुद्ध भएपछि अन्य बाटोबाट ग्यास बुलेट ल्याउन कठिन हुने जानकारी दिनुभयो । बजारमा डिजेल, पेट्रोल र हवाई इन्धनको वितरण भने नियमित रूपमा भइरहेको उहाँले बताउनुभयो ।निगमका अनुसार लामो समयसम्म मुख्य राजमार्ग अवरुद्ध भए पनि पाइप लाइनबाट आयात गरिएको डिजेल, पेट्रोल बाराको अमलेखगन्जदेखि वैकल्पिक रुटमार्फत उपत्यकामा आयात गर्न सकिन्छ तर ग्यास सिलिन्डर भने ट्रकबाट ल्याउनुपर्ने हुन्छ । यसअघि उद्योगीले उपत्यकाबाट खाली सिलिन्डर लगेर तराईका ग्यास प्लान्टमा भरी वैकल्पिक बाटो हुँदै ट्रकबाट भरिएका सिलिन्डर ल्याएका थिए ।  काठमाडौँ प्रवेश गर्ने मुख्य मार्ग बन्द भएपछि अत्यावश्यक खाद्यान्न तथा इन्धनलगायत सामग्रीको आपूर्ति सहज बनाउन त्रिभुवन राजपथलाई भने सीमित रूपमा सञ्चालनमा राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार त्रिभुवन राजपथ अन्तर्गतको हेटौँडा–भीमफेदी–नौबिसे हुँदै काठमाडौँ आउने सवारीसाधनलाई मात्रै प्रवेश दिइएको छ । आपूर्ति व्यवस्थाका लागि आवश्यक खाद्यान्न, इन्धनलगायत अत्यावश्यक सामग्री आपूर्तिमा सहजताका लागि त्रिभुवन राजपथ एकतर्फी सञ्चालनमा राखिएको कार्यालयले प्रस्ट पारेको छ ।