इटहरी । परिवारको सुखका लागि छ वर्षअघि विदेश गएका सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ४१ वर्षीय शम्भु खड्का अहिले आफ्नै जीवन बचाउन अरूको सहयोगको प्रतीक्षामा छन् ।

दुवै मिर्गौला फेल भएपछि उपचाररत शम्भुको परिवारले उपचारका क्रममा भएको सम्पूर्ण जायजेथा खर्च गरिसकेपछि थप उपचारका लागि आर्थिक सहयोगको अपिल गरेको छ । छ वर्षदेखि अफ्रिकी मुलुक मौरिससमा रोजगारी गर्दै आएका शम्भु गत माघदेखि बिरामी परेका थिए । मधुमेह र उच्च रक्तचापका कारण बिरामी परेका उनको सुरुमा मौरिससमै उपचार भइरहेको थियो । वैशाखमा स्वास्थ्य अवस्था गम्भीर बनेपछि परिवारले करिब नौ लाख रुपैयाँ खर्च गरेर उनलाई नेपाल ल्याएको उनका वृद्ध बुबा नगिन्द्र खड्काले बताए ।

‘छोरालाई जसरी पनि बचाउनुपर्छ’ भन्ने आशामा परिवारले मौरिससमा उपचार गराउँदादेखि नेपाल ल्याउँदासम्म ठूलो रकम खर्च गरिसकेको छ । ‘नेपाल ल्याएपछि पनि उपचारका लागि निरन्तर रकम खर्च हुँदै गयो । उपचारमा भएको खर्चले परिवारको जायजेथा सकिएको छ,’ नगिन्द्रले भने ।

मौरिससमा उपचारका क्रममा भएको खर्चको यकिन विवरणसमेत परिवारसँग छैन । नेपाल ल्याएपछि पनि उपचारमा निरन्तर रकम खर्च भइरहेको छ । तर, परिवारसँग थप उपचारका लागि आवश्यक रकम जुटाउने आर्थिक सामर्थ्य बाँकी छैन । शम्भु अहिले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–लोकन्थलीस्थित शान अस्पतालमा उपचाररत छन् । उनको उपचारका लागि भाइ राजन खड्कासहित दिदीबहिनी लिना खड्का र राधा खड्का निरन्तर खटिरहेका छन् ।

परिवारका लागि अहिले सबैभन्दा ठूलो चुनौती आर्थिक अभाव बनेको छ । आफ्नो क्षमताले भ्याएसम्म उपचार गराउँदा पनि आर्थिक स्रोत सकिएपछि परिवारले शम्भुको जीवन बचाउन सहयोगी मनहरूसँग साथ मागेको हो । ‘छोराको उपचार रोक्नुपर्ने अवस्था नआओस्’ भन्ने आशामा रहेका बुबा नगिन्द्रले शम्भुको उपचारका लागि सक्दो सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् ।

शम्भुको उपचारमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले उनको नाममा रहेको एनआइएमबी बैंकको खाता नम्बर ०१९०५०२००२७३३५ मा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ । परिवारका लागि अहिले सानो सहयोग पनि ठूलो आशा बनेको छ । उपचारका लागि निरन्तर सहयोग जुट्न सके शम्भुको जीवन बचाउने प्रयासलाई जारी राख्न सकिने परिवारको अपेक्षा छ ।