इटहरी स्  बङ्गालको खाडीबाट विकसित वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानी गर्न पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढी तथा डुबानको जोखिम क्षेत्रको निगरानीसँगै सम्भावित उद्धार र प्रतिकार्यलाई प्रभावकारी बनाउन शुक्रबारदेखि ड्रोन प्रयोगमा ल्याएको हो। डिभिजन वन कार्यालयसँग समन्वय गरी सञ्चालनमा ल्याइएको ड्रोनबाट जोखिमयुक्त नदी तथा खोलाका पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती र डुबानको सम्भावना भएका क्षेत्रको निगरानी गरिनेछ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार जोखिम नक्साङ्कनका आधारमा नदी तथा खोलाका संवेदनशील क्षेत्रको नियमित निगरानी गरी प्राप्त सूचनाका आधारमा आवश्यक उद्धार तथा प्रतिकार्य अघि बढाइनेछ।

‘विपद् प्रतिकार्यका लागि उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी आवश्यक सूचना सङ्कलन र उद्धारलाई प्रभावकारी बनाउन ड्रोन प्रयोग गरिएको हो,’ उनले भने। जिल्ला प्रशासन कार्यालयका अनुसार गौरीगञ्ज गाउँपालिकाका वडा नं। १ र २ का ४७४ तथा झापा गाउँपालिकाका वडा नं। १ र २ का ६९५ घरपरिवार डुबानको जोखिममा छन्। यी चार वडाका गरी एक हजार १६९ घरपरिवार सम्भावित डुबानको जोखिममा रहेका छन्।

सम्भावित विपद्को प्रतिकार्यका लागि जिल्लामा नौवटा विपद् प्रतिकार्य डुङ्गा तयारी अवस्थामा राखिएको छ। नेपाली सेनाका चारवटा ‘क्विक रेस्पोन्स टिम’ र सशस्त्र प्रहरीका उद्धार टोलीलाई समेत तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ। जोखिमयुक्त नदी तथा खोलाका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले नियमित अनुगमन तथा निरीक्षण गरिरहेका छन्। शुक्रबार कनकाई, बिरिङ र मेची नदीको जलसतह खतराको तहमा पुगेपछि दिउँसो साइरन बजाइएको थियो। यी नदी क्षेत्रमा तीनवटा साइरन जडान गरिएको छ। साँझतिर भने नदीको जलसतह घटेको प्रजिअ पोखरेलले बताए।

इलाम क्षेत्रमा भारी वर्षा हुँदा त्यहाँबाट बगेर आउने नदीमा करिब तीन घण्टामा झापामा बाढी आइपुग्ने भएकाले सोही समयलाई आधार बनाएर पूर्वसूचना प्रणाली सञ्चालन गरिएको प्रशासनले जनाएको छ। ‘इलाम क्षेत्रमा भारी वर्षा भएपछि त्यहाँबाट बगेर आउने नदीमा करिब तीन घण्टामा झापामा बाढी आइपुग्छ। त्यसलाई आधार बनाएर साइरन बजाउने र ‘अर्ली वार्निङ सिस्टम’ मार्फत जोखिममा रहेका क्षेत्रमा सूचना दिने व्यवस्था मिलाइएको छ,’ पोखरेलले भने।