इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापाका १३ वटै पालिकामा नयाँ नेतृत्व चयन भएको छ। कांग्रेसको निर्धारित कार्यतालिकाअनुसार असोज ७ गते सम्पन्न पालिका अधिवेशनबाट सभापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
पालिका अधिवेशनबाट मेचीनगरमा योगेन्द्र थापा मगर, बुद्धशान्तिमा मदनकुमार प्रसाईं, अर्जुनधारामा भीष्म मिश्र, बिर्तामोडमा कुलप्रसाद संग्रौला, भद्रपुरमा बन्धु कार्की र कचनकवलमा तुलाराम अधिकारी सभापतिमा निर्वाचित भएका छन्। त्यस्तै हल्दिबारीमा गंगा प्रसाद प्रसाईं, बाह्रदशीमा इन्द्रबहादुर बस्नेत, झापा गाउँपालिकामा सागिरथ गणेश, कन्काईमा दुर्गाप्रसाद प्रसाईं, शिवसताक्षीमा अशोक बस्नेत, गौरादहमा प्रकाश कार्की र गौरीगञ्जमा अगनुप्रसाद राजवंशी सभापतिमा चयन भएका छन्।
पालिका तहको नेतृत्व चयनसँगै अब कांग्रेसको स्थानीय संगठनले नयाँ नेतृत्व पाएको छ। पालिका अधिवेशनमा केही स्थानमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको थियो भने केही पालिकामा सभापति तथा अन्य पदाधिकारीका लागि निर्वाचन भएको थियो। नयाँ नेतृत्व चयनसँगै कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापामा पालिका तहको सांगठनिक प्रक्रिया पूरा भएको छ। यसअघि वडा तहको अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन्।
पालिका अधिवेशनलाई स्थानीय तहमा पार्टी संगठनलाई पुनर्गठन गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा लिइएको छ। वडा तहबाट आएका प्रतिनिधिहरूले पालिका नेतृत्व चयन गरेपछि अब कांग्रेसको क्षेत्रीय अधिवेशनतर्फ राजनीतिक गतिविधि केन्द्रित हुने भएको छ। झापामा पालिका तहको नेतृत्वका लागि कतिपय स्थानमा सहमतिको प्रयास भए पनि सबै ठाउँमा सहमति जुट्न नसकेपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको थियो। यसले स्थानीय तहमा कांग्रेसभित्र रहेको प्रतिस्पर्धा र नेतृत्वका लागि आकांक्षालाई समेत सतहमा ल्याएको छ। पालिकाको नयाँ नेतृत्वले अब वडा र पालिका तहको संगठनलाई थप व्यवस्थित बनाउने, कार्यकर्तालाई पार्टी गतिविधिमा जोड्ने तथा आगामी महाधिवेशनका लागि आवश्यक सांगठनिक तयारी अघि बढाउने जिम्मेवारी पाएको छ।


