इटहरी स् पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका कारण कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको छ ।
शुक्रबार राति ११ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर बग्ने पानीको बहाव २ लाख ९६ हजार ७२५ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मुख्य ५२ वटा र नहरका ४ वटा गरी कुल ५६ वटा ढोकामध्ये ३९ वटा ढोका खोलिएको उनले बताए । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डासमेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमानसहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ ।
कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुरक्षा कर्मीले माइकिङ गरिरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । सप्तकोशी नदीमा पानीको बहाव बढेका बेला दहत्तरबहत्तरबाट आउने काठदाउरा झिक्न जाँदा जोखिम हुन सक्ने भएकाले त्यस्तो कार्यका लागि नजान सर्वसाधारणलाई आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले बताए । नेपाल मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।


