इटहरी स् श्रीलंका टापुको जीवनयापन कृषिमा निर्भर छ । त्यसमा पनि पछिल्लो समय यहाँका बासिन्दाले तरकारी खेती गरेर आर्थिक क्रान्ति नै ल्याएका छन् ।

दुई दशकसम्म अघिसम्म मलिलो मानिने यहाँका खेतहरू अहिले रूखो हुँदै गएका छन् । तर, यही रूखो जमिनमा किसानले तरकारी लगाएर विदेशमा भन्दा राम्रो कमाई गरिरहेका छन् । श्रीलंका टापुका केही सीमित परिवारबाहेक बाह्रै मास कोही फुर्सदिला हुँदैनन् । यस क्षेत्रका गन्यमान्यमा पर्ने अर्जुन चन्द्रवंशीका चार जना छोराहरू मिलेर तरकारी खेती गर्दै आएका छन् । अर्जुनका छोराहरू रामविलाश, लक्ष्मण, श्रीराम र जाब्दी वाच्छाधनले टमाटर खेती गरेर वार्षिक कम्तीमा ६० लाख कमाई गर्छन् । यस वर्ष त एक करोड कमाई गर्ने लक्ष्य राखेका छन् ।

श्रीलंका टापुका बासिन्दाले पहिले पनि तरकारी खेती लगाउने गर्थे । तर, तीन–चार कट्ठामा गर्थे । त्यो ढाकीमा हालेर बजारमा बिक्री गर्थे, यसरी गर्दा सामान्य खर्च टथ्र्यो । तर, अचेल श्रीलंका टापुका बासिन्दाले उत्पादन गरेको तरकारी खरिद गर्न पूर्वका शहरमा नाम चलेका व्यापारीलाई गाह्रो हुने गर्छ । श्रीरामका अनुसार चार वर्षदेखि टमाटर खेती थाल्दा पहिलो वर्ष दस कट्ठामा लगाइएको थियो । त्यसपछि हरेक वर्ष बढाएर क्रमशः अढाई, तीन विगाहा र यस वर्ष पाँच विगाहामा टमाटर रोप्न थालिएको छ । यो वर्ष २५ हजार विरुवा भारतबाट खरिद गरेर ल्याई सकेको र धमाधम रोप्ने काम चलिरहेको छ । टमाटर रोपाइँ असोज १५ सम्म हुनेछ । त्यसपछि टमाटर मंसिर महिनादेखि उत्पादन भएर चैतसम्म हुने गर्छ ।

श्रीरामले सुरुवातमा भारतमा टमाटर खेती राम्रो हुने गरेको भिडियोमार्फत देखेपछि परीक्षणका लागि दस कट्ठा जग्गामा लगाएका थिए । त्यो वर्ष राम्रै आम्दानी भएपछि हरेक वर्ष थप जग्गामा लगाउन थालिएको बताए । हुन त श्रीराम र उनका दाजु रामविलाश विदेश समेत गए । तर, विदेशमा सबैथोक खर्च कटाएर ५० हजारभन्दा बढी आम्दानी नभएपछि फर्केर आए । ‘अहिले हाम्रो एक जना बराबर हुँदै नभएको पनि वार्षिक १५ लाख रुपैयाँ हुने गर्छ,’ उनले भने, ‘हामीले वर्षभरी २० जनालाई नियमित ज्यालादारीमा रोजगार समेत दिएका छौं ।’ वर्षभरी रोजगारदाताले वार्षिक ६० लाख हाराहारी पारिश्रमिक लाने उनले बताए । हुन त टमाटरबाट जति आम्दानी गर्न सजिलो छ, उत्तिकै चुनौती पनि छ । मौसमले साथ दिएन भने टमाटरबाट ठूलै रकम घाटा पनि हुन सक्छ । यो टमाटर मौसक जसरी परिवर्तन हुन्छ, त्यसरी नै रोगले सताउँछ । जसले गर्दा कहिलेकाही नसोचेको क्षती व्यहोर्नुपर्ने हुन्छ ।

श्रीरामका अनुसार टमाटरबाहेक सिजन सिजनको तरकारी लगाउने गर्छन् । कुल १२ विगाहा जग्गामा उनीहरुको परिवारले मकै तथा धान पनि आवश्यकता अनुसार लगाउने गरेको छ पहिला पहिला परवरको राजधानी मानिन्थ्यो, टापु । अहिले परवर फल्दैन रु किन रु पहिला पहिला बढी चिस्यान हुँदा परवर हुने गरेपनि विस्तारै स्थानीयले त्यसलाई लगाउने नै छाडे । ‘सबैले आम्दानी हुने क्षेत्र पहिचान गर्न थाले, जसले गर्दा जेबाट आम्दानी हुन्छ, त्यही रोज्ने क्रममा यतिबेला टमाटर खेती नगर्ने कोही भेटिदैनन,’ ३८ वर्षे बालक चन्द्रवंशीले भने । बालक पनि २०७५ सालदेखि दुई वर्षसम्म कुवेत बसे । त्यसपछि फर्केर आएर उनी तरकारी खेतीमा लागेका हुन् । उनले पनि तरकारी खेतीबाटै कम्तीमा ६० लाखसम्म वार्षिक आम्दानी गर्छन् । ‘यो वर्ष १५ हजार टमाटरको बिरूवा रोप्ने योजना छ,’ उनले भने, ‘सवै बिरूवा भारतबाट ल्याई सकिएको छ ।’ कलमी गरेको टमाटरको बिरूवा भारतको छतिसगढाबाट किसानले ल्याउने गरेका छन् । श्रीलंका टापुका बासिन्दालाई केही वर्षअघिसम्म खान लाउँनकै लागि धौ धौ हुने गथ्यो । अचेल कसैलाई पनि खान–लाउँनको कुनै कमी छैन् । केहीले कोशी पूर्व जग्गा जमिन जोडिरहेका छन् ।

श्रीलंका टापुको बस्ती ।

श्रीलंका टापु पछिल्लो समय तरकारी खेतीको ‘पकेट’ क्षेत्र मानिएको छ । यहाँका बासिन्दा पछिल्लो समय टमाटर खेतीमा बढी नै लागेता पनि हिउँदे तरकारीको रूपमा काउली, बन्दा, मुला, भण्टा, मटरकोसा, टमाटर, खुर्सानी, प्याज, गाजर, तरबुजा र खरबुजा लगाउने गरेका छन् । घिउ सिमी, तमे बोडी, काक्रो, भिन्डी, फर्सि, भण्टा, घिरौला लगायतका तरकारी बर्खाको सिजनमा पनि तरकारी लगाउने गरेका छन् । श्रीलंका टापुका बासिन्दामध्ये प्रायःजसो सबैले नयाँ कृषि उपकरण जोडेका छन् । तीनै कृषि उपकरण प्रयोग गरेर काम गर्न उनीहरुलाई सहज भएको छ । यहाँका बासिन्दाले उत्पादन गरेको तरकारी इटहरी, इनरुवा, धरान, बिर्तामोडलगायतका स्थानका व्यापारी आएर गाउँबाटै खरीद गरेर लाने गरेका छन् । ‘यो वर्षदेखि भने पूर्वका व्यापारीले मात्र श्रीलंका टापुमा उत्पादित तरकारी खरीद गर्न नसक्ने हुँदा पश्चिमका व्यापारीलाई पनि भनेका छौं,’ बालक चन्द्रवंशीले भने ।

आधिकारिक तथ्याङ्क कसैसँग नभएपतिा पनि ३०० विगाहाभन्दा बढी जग्गामा मात्र टमाटर खेती भएको छ । सुनसरी जिल्लाभर ६ हजारभन्दा बढी हेक्टरमा तरकारी खेती हुने गरेको छ । जसमा सबैभन्दा बढी श्रीलंका टापुले धानेको छ । श्रीलंका टापुमा तरकारीबाहेक किसानले अन्नबाली मकै, धान, गहुँ नगदेवालीमा दलहन, तेलहन पनि लगाउने गरेका छन् । कतिपयले त तीन सिजन मकै लगाउने गरेका छन् । वडा नं। ६ का बद्री राईका अनुसार पहिलो चरणमा कात्तिकतिर रोपेको मकै पुरै पाक्छ । त्यसपछि चैततिर लगाएको मकै खाने तयारी भएपछि घोगा नै बिक्री हुन्छ । अनि असारतिर फेरि मकै लगाएर तयारी भएर त्यो पनि बजारमा मकै पोलेर बिक्री गर्नेले घोगै लाने गरेका छन् । श्रीलंका टापु क्षेत्रबाट वर्षमा तीन सय हाराहारी मकै व्यापारी आएर खरीद गरेर लाने गरेका छन् । टापुमा पहिलेदेखि गढौयामा बस्दै आएकाहरू र वाढी, पहिरोजस्ता आपत्बिपत्मा परेर आर्थिक अवस्था दयनीय भएका जीवन गुजार्न आएका हुन् ।

विशेषगरी सप्तरी, सिरहा, उदयपुर, सुनसरी, मोरङ्गसँगै पूर्वी पहाडी जिल्ला खोटाङ्ग, ओखलढुंगा लगायतका स्थानबाट आएका मनिसको आश्रय स्थल बनेको छ टापु । कतिपय भने माओवादीले २०५२ सालमा थालेको जनयुद्दपछि कतिपयलाई माओवादीले निशाना बनाएपछि ज्यान जोगाउन सेल्टर स्थान ठानेर बस्दै आए । लामो समयसम्म यही बसेपछि घरवार गरेर दीर्घकालीन रूपमै बस्न थाले । ‘माओवादी जनयुद्दका बेला कतिपय लुक्न आएका सधैंभरी यतै बस्न थालेको पाइन्छ,’ स्थानीय दिलबहादुर माझीले भने । कोशीको तटबन्ध निर्माणका बेला भारतबाट आएका बंगाली नागरिकको संख्या पनि टापुमा उल्लेख्य छ । जो यही घरजम गरेर नेपाली नागरिक भइसकेका छन् । टापुमा बसोबास गर्ने ऐलानी जग्गामा पाखुरी चलाएर जिन्दगी जिउँदै आएका छन् । चन्द्रवंशी, उराउ, थारु, यादव, कविरत, मुसहर, कोइरी, खत्वे, सार्की, राई, लिम्ब र बाहुन क्षेत्री सबै खालेको घर बनेको टापु । जनसंख्या र क्षेत्रफल दुवै हिसाबले बेग्लै वडाको हैसियत राख्दछ । राजनीतिज्ञले यो टापुका बासिन्दालाई हरेक निर्वाचन ताका आकर्षक आश्वासन दिएर भोट बैँकको रूपमा प्रयोग गर्दै आएका छन् ।