इटहरी। संघीयता कार्यान्वयनमा देखिएका व्यावहारिक उल्झन सुल्झाउन र प्रदेशहरूका साझा एजेन्डा तय गर्न आगामी असोज तेस्रो साता विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन हुने भएको छ ।
कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज २२ र २३ गते प्रदेश राजधानी विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुन लागेको हो । प्रदेश सरकारहरूले भोग्नुपरेका समस्याहरूको पहिचान गर्दै संघीय संरचनालाई थप सुदृढ बनाउने मुख्य उद्देश्यसहित आयोजना हुन लागेको यस सम्मेलनको तयारी प्रदेश सरकारले अघि बढाएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार सम्मेलनमा संघीयता अभ्यासका क्रममा देखिएका चुनौती, प्रदेशहरूले गरेका असल अभ्यास तथा अनुभवहरूको आदानप्रदान गरिनेछ । प्रदेशहरूबिच आपसी समझदारी र साझेदारी बढाउँदै आर्थिक समृद्धि र सुशासनको मार्ग तय गर्न यो भेला महत्त्वपूर्ण हुने उहाँको विश्वास छ ।
मुख्यमन्त्री कार्कीले सम्मेलनका क्रममा प्रदेशहरूबीच अन्तरप्रदेश व्यापार, उत्पादनको आदानप्रदान र पर्यटन प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत ठोस समझदारी जुटाइने जानकारी दिनुभयो । सम्मेलनको आवश्यक तयारी र समन्वयको जिम्मेवारी कोशी प्रदेश योजना आयोगलाई दिइएको छ । आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार असोज २२ गते सबै मुख्यमन्त्रीहरूको उपस्थितिमा सम्मेलन उद्घाटन हुनेछ । त्यसलगत्तै प्रदेशहरूबीचका असल अभ्यास, स्थानीय र संघीय सरकारसँग गर्नुपर्ने नीतिगत तथा कानुनी समन्वय र समस्या समाधानका उपायहरूबारे घनिभूत अन्तरक्रिया चल्नेछ ।
उपाध्यक्ष निरौलाले यो सम्मेलनलाई एकपटकको कार्यक्रममा मात्र सीमित नराखी आगामी दिनमा नियमित रूपमा छलफल र समन्वय गर्ने स्थायी फोरमका रूपमा संस्थागत गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो । सम्मेलनको कार्यतालिकामा प्रदेशको पर्यटन प्रवर्द्धनलाई सघाउ पु¥याउने उद्देश्यले सहभागी मुख्यमन्त्री तथा पाहुनाहरूलाई विराटनगर नजिकका पर्यटकीय गन्तव्यहरूको भ्रमण गराउने कार्यक्रमसमेत समावेश गरिएको छ । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आवश्यक समन्वय भइसकेको जानकारी दिनुभयो । सम्मेलनमा मुख्यमन्त्रीहरूसहित सबै प्रदेशका योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा विशिष्ट तहका सरकारी अधिकारीहरूको सहभागिता रहनेछ ।
कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले सम्मेलनमा बहुप्रदेशबिचको साझेदारीका सम्भावनाहरूमाथि विमर्श हुने भएकाले यो निकै फलदायी हुने बताउनुभयो । संघीयता कार्यान्वयन र सबलीकरणमा ठुलो बल पुग्ने उहाँको भनाइ छ । सम्मेलनलाई व्यवस्थित र प्रभावकारी बनाउन कोशी प्रदेश योजना आयोगले विभिन्न विषयगत उपसमिति गठन गरी कार्यविभाजनसहित अघि बढ्ने उपाध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

