इटहरी स् सुनसरीको बर्जु गाउँपालिका–१ गोपीचोकस्थित हुलाकी राजमार्गबाट प्रहरीले रु। चार लाख ५० हजार मूल्य बराबरका भन्सार छलीका लत्ताकपडासहित एक जनालाई पक्राउ गरेको छ।

भारतबाट अवैध रूपमा लत्ताकपडा ल्याउँदै गरेको अवस्थामा को २ ह २७५१ नम्बरको टेम्पो चालक मोरङको विराटनगर महानगरपालिका–११ का ३८ वर्षीय देवेन्द्र खड्का पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र प्रहरी चौकी रामगञ्ज बेलगछिया, सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गएराति करिब ११ बजे सवारी जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका लत्ताकपडा फेला पारेको हो। पक्राउ परेका खड्का, टेम्पो र बरामद सामान आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहबीमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।