इटहरी। कोशी नदीमा पानीको बहाव र जलसतहको अवस्थाबारे जानकारी लिन नेपाल र भारतका सुरक्षा तथा प्रशासनिक अधिकारीले कोशी ब्यारेजको स्थलगत निरीक्षण गरेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा नेपाली अधिकारी तथा भारतको सुपौल जिल्लाका जिल्ला अधिकारी शावन कुमारसहितको टोलीले शनिबार कोशी ब्यारेजको निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा नेपाल र भारततर्फका अधिकारीले कोशी ब्यारेजमा पानीको बहाव, जलसतह, खोलिएका ढोका तथा तटीय क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे जानकारी लिएका थिए । निरीक्षणमा सुनसरीतर्फका सुरक्षा समितिका पदाधिकारीसमेत सहभागी हुनुहुन्थ्यो । शनिबार दिउँसो १स् १५ बजेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव दुई लाख ९८ हजार २७५ क्युसेक रहेको छ । पानीको बहाव घट्दो क्रममा रहे पनि जलसतह अझै खतरा तहभन्दा माथि रहेको छ । ब्यारेजका ३९ वटा ढोका खुला छन् ।

यसअघि शनिबार बिहान कोशी ब्यारेजमा पानीको बहाव तीन लाख तीन हजार ७९५ क्युसेक मापन गरिएको थियो । त्यतिबेला ४० वटा ढोका खुला थिए । बिहानको तुलनामा दिउँसो पानीको बहाव पाँच हजार ५२० क्युसेकले घटेको हो । कोशी ब्यारेजमा यसअघि पानीको बहाव तीन लाख १६ हजार ७९५ क्युसेकसम्म पुगेको थियो । त्यतिबेला ४३ वटा ढोका खोलिएका थिए । पछिल्लो मापनअनुसार उच्चतम बहावको तुलनामा पानीको बहाव १८ हजार ५२० क्युसेकले घटेको छ भने खुला ढोकाको सङ्ख्या चारवटाले घटाइएको छ ।

प्रमुख जिल्ला अधिकारी थापाले कोशीको बहाव केही घटे पनि तटीय क्षेत्रका बासिन्दाले अझै सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार कोशी नदीको जलसतह र पानीको बहावको निरन्तर निगरानी भइरहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह तथा सुरक्षा निकायलाई सतर्क अवस्थामा राखेको जनाएको छ । प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरेको छ । कोशीको बहाव निरन्तर घट्दै गए जोखिम क्रमशः कम हुने भए पनि जलसतह सामान्य अवस्थामा नआएसम्म तटीय क्षेत्रमा सावधानी आवश्यक रहेको प्रजिअ थापाले बताउनुभयो ।