इटहरी । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य तथा पूर्वराष्ट्रिय फुटबल खेलाडी दीपेन्द्र धिमालको शनिबार अन्त्येष्टि गरिएको छ ।

पेटको क्यान्सरका कारण ५९ वर्षको उमेरमा निधन हुनुभएका धिमाललाई अन्तिम बिदाइ गर्न मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । धिमालले आफ्नो खेलजीवनको सुरुवात गर्नुभएको सोही ऐतिहासिक मैदानमा पार्थिव शरीरलाई परिक्रमा गराएपछि अन्तिम यात्राका लागि अघि बढाइएको थियो। उक्त श्रद्धाञ्जली सभामा कोशी प्रदेशसभा सदस्यहरू भीम पराजुली, विद्या चाम्लिङ र शोभा चेम्जोङ पालुङ्वा, उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल तथा पूर्वनगरप्रमुख खड्ग फागोलले पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

त्यसैगरी, पूर्वराष्ट्रिय फुटबल खेलाडी देवनारायण चौधरी सहित विभिन्न खेल पदाधिकारी, सञ्चारकर्मी, राजनीतिकर्मी, समाजसेवी र स्थानीय नागरिकहरूको  उपस्थिति रहेको थियो। उर्लाबारीबाट सुरु भएको शवयात्रामा हजारौँ मलामी सहभागी भई पथरी शनिश्चरे–२ स्थित हरियाली सामुदायिक वन क्षेत्र पुगेका थिए । त्यहाँ धिमालको जातीय परम्परा अनुसार उहाँकी श्रीमती तथा छोरा–छोरीले अन्तिम संस्कार सम्पन्न गर्नुभयो। नेपाली फुटबल क्षेत्रमा लामो समय महत्त्वपूर्ण योगदान पु¥याउनुभएका धिमालको निधनले खेलजगतमा अपूरणीय क्षति पुगेको भन्दै सहभागीहरूले गहिरो दुःख व्यक्त गरेका छन् ।