इटहरी। झापाको मेचीनगर–१० धुलावारी माइती भएकी हेमा मण्डलको हत्या गरेको आरोपमा उनका श्रीमान् विप्लव कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतको नक्सलवारीमा श्रीमान्सँगै भाडाको कोठामा बस्दै आएकी हेमाको शव केही दिनअघि कुहिएको अवस्थामा कोठाभित्र फेला परेको थियो । हेमाको मृत्यु स्वाभाविक नभई हत्या भएको भन्दै माइती पक्षले भारतीय प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले हेमाका पति विप्लव कुमारलाई पक्राउ गरेको हो । पक्राउ परेका विप्लवलाई भारतीय प्रहरीले शनिबार सिलिगुडी अदालतमा पेश गरेको छ ।

माइती पक्षका अनुसार करिब दुई वर्षअघि विप्लव कुमार कामका लागि धुलावारी आएका बेला हेमासँग चिनजान भएको थियो । त्यसपछि विप्लवले हेमालाई फकाएर भारत लगेको माइती पक्षको भनाइ छ । केही समयअघि विप्लव कुमार ‘काम गर्न जान्छु’ भन्दै एक साताका लागि घरबाहिर गएका थिए । सोही अवधिमा हेमाको हत्या भएको हुनसक्ने आशंका माइती पक्षले गरेको छ । भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।