इटहरी। विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान दिने उद्देश्यले सुनसरीको वराहक्षेत्र १० मा रहेको श्री प्रकाश माध्यमिक विद्यालयले विद्यार्थीलाई कम्प्युटर सिकाउन सुरु गरेको छ । 

विद्यार्थीलाई कम्प्युटर सीपसँग जोड्ने छुट्टाछुट्टै समूह बनाएर शनिवबार र आइतबार कम्प्युटर सिकाउन थालिएको विद्यालयले जनाएको छ । विद्यालयमा उपलब्ध १७ वटा कम्प्युटर मर्मतसम्भार गरी विद्यार्थीलाई प्रयोगात्मक रूपमा कम्प्युटर शिक्षा दिन थालिएको प्रकाश माविले जनाएको छ । विद्यालयका अनुसार कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीलाई समूह विभाजन गरी कम्प्युटर कक्षा सञ्चालनमा ल्याइएको हो । नियमित पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यार्थीलाई समूहमा विभाजन गरी शनिबार र आइतबार अतिरिक्त समयमा कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यपक चुडामणि खनालले बताउनुभयो ।

विद्यार्थीलाई कम्प्युटरको आधारभूत ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले कक्षा सुरु गरिएको विद्यालयले जनाएको छ । कम्प्युटर सम्बन्धी सामान्य जानकारी, कम्प्युटर सञ्चालन गर्ने तरिका तथा आधारभूत प्रविधिको प्रयोगबारे विद्यार्थीलाई अभ्याससहित सिकाउन थालिएको शिक्षक विमल निरौलाले बताउनुभयो । विद्यालयमा रहेका कम्प्युटर मर्मत गरी कक्षा सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ । कम्प्युटर कक्षा सुरु भएपछि विद्यार्थीले विद्यालयमै प्रयोगात्मक रूपमा कम्प्युटर चलाएर सिक्न थालेका छन् । 

विद्यालयमा पछिल्लो समय विद्यार्थीको चापसमेत बढ्दै गएको छ । नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन हुँदै आएको श्री प्रकाश माध्यमिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन–अध्यापन हुँदै आएको छ ।  विसं २०२१ मा स्थापना भएको विद्यालयले विद्यार्थीलाई माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दै आएको छ । समयानुसार शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने क्रममा कम्प्युटर शिक्षालाई पनि प्राथमिकतामा राखिएको विद्यालयले जनाएको छ ।