इटहरी। मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित केरौन १३२र३३ केभी सबस्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
करिब ९० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनाका वायरिङ, ट्रान्सफर्मर जडान र पोल विस्तारलगायत अधिकांश काम सम्पन्न भइसकेका छन्। आयोजनाका इन्जिनियर राजेश साहका अनुसार असोज १७ गते हाईटेन्सन लाइनबाट सटडाउन लिएर ट्रान्सफर्मर चार्ज गर्ने तयारी भइरहेको छ। ट्रान्सफर्मर चार्ज गर्न करिब २४ घण्टा लाग्ने भएकाले मोरङ र झापाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने उनले बताए।
२०७८ साउन २७ गतेबाट निर्माण सुरु भएको आयोजना असोजभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सबस्टेशन सञ्चालनमा आएपछि विराटनगरतर्फबाट पूर्वी क्षेत्रमा लामो दूरीको विद्युत् प्रसारण गर्नुपर्ने अवस्था घट्ने, कम भोल्टेजको समस्या न्यूनीकरण हुने तथा स्थानीय प्रसारण र वितरण प्रणालीको क्षमता र विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ।
यसले बढ्दो विद्युत् माग व्यवस्थापनसँगै उद्योग, व्यापार, कृषि र घरेलु उपभोक्तालाई नियमित तथा गुणस्तरीय विद्युत् आपूर्ति गर्न सहयोग पुग्ने आयोजनाको भनाइ छ। रंगेली, सुनवर्षी, धनपालथान, कानेपोखरी, रतुवामाई, जहदा, रमाइलोलगायत क्षेत्रका उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने आयोजनाले जनाएको छ।


