इटहरी । युवाहरूलाई आफ्नो क्षमता पहिचान गरी करियरको सही दिशा तय गर्न र स्पष्ट लक्ष्य निर्धारणमा सहयोग पु¥याउने उद्देश्यले इनरुवामा एकदिने करियर मार्गदर्शन कार्यक्रम सम्पन्न भएको छ। 

’वी फर चेन्ज’ अभियानको आयोजनामा इनरुवा वडा नम्बर ६ स्थित लेमन होटलमा आयोजित उक्त कार्यक्रममा साविक मधेशाका विभिन्न वडाका ४२ जना जेन्जी नवयुवाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा अभियान्ता मौसम कोइरालाले मुख्य प्रशिक्षकका रूपमा सहभागी युवाहरूलाई सही करियर छनोट, लक्ष्य निर्धारण, क्षमता पहिचान र भविष्य निर्माणका विषयहरूमा व्यावहारिक प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा सहभागी डा. दिवस कार्कीले युवाहरूको क्षमता अभिवृद्धि र सही निर्णय लिनका लागि यस्ता कार्यक्रम अत्यन्तै प्रभावकारी तथा उपयोगी हुने धारणा व्यक्त गर्नुभयो। त्यस्तै, वी फर चेन्जका अभियान्ता लोकेश निरौलाले अभियान केवल समस्या देखाउन वा विरोध गर्नमा सीमित नभई समस्याको सही पहिचान र समाधान खोज्दै इनरुवालाई सकारात्मक परिवर्तनको बाटोमा अघि बढाउन केन्द्रित रहेको स्पष्ट पार्नुभयो।

उहाँले युवाको क्षमता, शिक्षा, व्यक्तित्व विकास र करियर निर्माणका लागि अभियानले निरन्तर यस्ता सिर्जनात्मक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमले युवाहरूलाई आफ्नो रुचि र क्षमता पहिचान गर्दै भविष्यको बाटो तय गर्न ठूलो मद्दत पु¥याएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्।