इटहरी । इलाका प्रहरी कार्यालय पथरी, मोरङले २०८३ सालको भदौ महिनामा १८ वटा विभिन्न आपराधिक मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरदत्त पन्तले भदौ महिनाको कार्यसम्पादन, अनुसन्धान तथा शान्ति सुरक्षासम्बन्धी प्रगति विवरण सार्वजनिक गर्नुभएको हो। दर्ता भएका मुद्दा मध्ये सबैभन्दा बढी लागूऔषधतर्फ १० वटा रहेका छन्, जसअन्तर्गत १० जनालाई २१ ग्राम ६७० मिलिग्राम लागूऔषध सहित पक्राउ गरी ३ जनालाई सुधार गृह पठाइएको छ। यस्तै जबरजस्ती करणीका २, बैंकिङ कसुरका २, अभद्र व्यवहारका ३ र भवितव्य ज्यानको १ मुद्दा दर्ता भएका छन्। फेसबुक, ह्वाट्सएप, टिकटक र बैंकिङ क्युआर मार्फत भएका अनलाइन ठगीका घटनामा कुल २२ लाख ९७ हजार २ सय रुपैयाँ बिगो कायम भएको छ।

भदौ महिनामा १३ जना फरार प्रतिवादी पक्राउ पर्नुका साथै पुराना मुद्दाहरूमध्ये कर्तव्य ज्यान सहित ८ वटा मुद्दा फछ्र्योट गरिएको छ। समीक्षा अवधिमा भएका १९ वटा सवारी दुर्घटनामा १७ जना घाइते भएका छन् भने सवारी कारबाहीतर्फ ६० वटा सवारीसाधनबाट ४६ हजार रुपैयाँ जरिवाना सङ्कलन गरिएको छ । साथै, समुदाय–प्रहरी साझेदारी अन्तर्गत ६२० जनाको सहभागितामा १७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको डीएसपी पन्तले जानकारी दिनुभयो।