इटहरी । मोरङको पथरी शनिश्चरेमा आगामी असोज १७ गतेदेखि आयोजना हुने ’तेस्रो पथरी शनिश्चरे गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी ७५ प्रतिशत पूरा भई अन्तिम चरणमा पुगेको छ ।
पथरी–११ फुटबल क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन खेलमैदान व्यवस्थापन, घाँस काट्ने, सम्याउने तथा दर्शकका लागि अस्थायी प्यारापिट निर्माणको कामलाई तीव्र पारिएको हो। आयोजक क्लबका अध्यक्ष सुमन विकका अनुसार दैनिक ३ देखि ५ हजारसम्म दर्शकले खेलको प्रत्यक्ष अवलोकन गर्न सक्ने अनुमान गरिएको छ।
प्रतियोगितामा आयोजक पथरी–११, भारतको युनाइटेड कुर्सेओङ फुटबल क्लब, ललितपुरको थ्री स्टार क्लब, झापा–११ फुटबल क्लब, काठमाडौँको न्युरोड टिम (एनआरटी), सिराहाको सलहेस युवा क्लब, काठमाडौँको नेपाल पुलिस क्लब र इलामको रेडहर्स फुटबल क्लब गरी आठ टोलीले सहभागिता जनाउँदै छन् । असोज २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय टोली, ए डिभिजन लिग तथा विदेशी चर्चित खेलाडीहरूको सहभागिता रहने अध्यक्ष विकले जानकारी दिनुभयो।
पथरी शनिश्चरे नगरपालिका मुख्य सहयोगी रहेको यस प्रतियोगितालाई मर्यादित र सफल बनाउन स्वदेश तथा विदेशमा रहेका खेलप्रेमीहरूबाट सहयोग प्राप्त भइरहेको छ। प्रतियोगिता सुरु हुन एक साता मात्र बाँकी रहँदा आयोजक, खेल पदाधिकारी र स्वयंसेवकहरू मैदान व्यवस्थापनमा निरन्तर खटिएका छन् ।


