इटहरी । धनकुटामा पछिल्लो समय दुध उत्पादन निरन्तर घट्न थालेको छ । आर्थिक वर्ष २०८०र०८१ यताका दुई वर्षमा धनकुटामा दुधको उत्पादन निरन्तर ओरालो लागेको हो ।
आर्थिक वर्ष २०८०र०८१ मा जिल्लामा १७ हजार एक सय १३ मेट्रिक टन दुध उत्पादन भएकोमा आर्थिक वर्ष २०८१र०८२ मा १३ हजार तीन सय तीन र गत आर्थिक वर्षमा ११ हजार चार सय ५९ मेट्रिक टन दुध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र धनकुटाले जनाएको छ । कृषकले पाउने दुधको भुक्तानी नियमित नहुँदा उत्पादन घट्दै गएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र धनकुटाको प्रमुख हिमा कुमारी गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०र०८१ नै डिडिसिले भुक्तानी नियमित दिन छाडेको हो । त्यस पछिका आर्थिक वर्षमा जिल्लामा निरन्तर दुध उत्पादन घटेको हो ।
उहाँका अनुसार भुक्तानीबाहेक बसाइँसराइले पनि केही हदसम्म असर गरेको छ । धनकुटामा उत्पादन भएको अधिकांश दुधको करिब ६० प्रतिशत डिडिसी तथा निजी डेरीमार्फत जिल्लाबाहिर निकासी हुँदै आएको थियो भने ४० प्रतिशत स्थानीय डेरीले छुर्पी घ्यू तथा चिज उत्पादन गरी निकासी गर्दै आएका छन् । आर्थिक वर्ष २०७९र०८० मा दुई सय ८० मेट्रिक टन छुर्पी उत्पादन भएको धनकुटामा आर्थिक वर्ष २०८०र०८१ दुई सय ६०, आर्थिक वर्ष २०८१र०८२ र २०८२र०८३ मा दुई सय २१ मेट्रिक टन उत्पादन भएको छ ।
त्यस्तै घ्यू आर्थिक वर्ष २०८०र०८१ मा १५।५, आर्थिक वर्ष २०८१र०८२ मा १८।२ र आर्थिक वर्ष २०८२र०८३ मा ८।४ मेट्रिक टन मात्र उत्पादन भएको कार्यालयका सूचना अधिकारी दिनेश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार छुर्पी, घ्यू तथा चिजको बजार समेत दिगो नहुँदा यी उत्पादनमा समेत स्थिरता छैन । कुनै वर्ष माग बढ्ने तथा कुनै वर्ष बिक्री नै नहुने समस्याका कारण उत्पादनमा उतारचढाव हुने गरेको कार्कीको भनाइ छ ।


